डा.अरुणा उप्रेति
नेपालमा बालबालिकालाई कुपोषणबाट बचाउन अनेक कार्यक्रम ल्याइन्छन्, कति प्रपञ्च रचिन्छन्। घरवरिपरि भएका भोजन, बिरुवाको वास्ता नगरेर बालबालिकालाई बाहिरबाट आएका बेलभिटाजस्ता खानेकुरा दिइन्छ। तर, मोरिन्गा अर्थात् सितलचिनीजस्तो वनस्पतिको वास्ता गरिँदैन।
सितलचिनीमा मानव शरीरलाई आवश्यक पर्नेभन्दा बढी किसिमका पोषण तत्व र ४६ किसिमका एन्टी अक्सिडेन्ट पाइने स्वास्थ्य मन्त्रालयका पोषणविद्लाई त थाहा हुनुपर्ने हो।
अंग्रेजीमा मोरिन्गा भनिने यो वनस्पतिलाई सायद विदेशी आएर राम्रो छ भनेपछि मात्र हाम्रा देशका नीति–निर्माताको आँखा खुल्छ कि?
यो वनस्पति तराई तथा मध्यपहाडमा लिची र आँप हुने ठाउँमा सजिलै लगाउन सकिन्छ । तराईतिर यसलाई सोहिजन, सैजन, सजिउन, मुनका नामले चिनिन्छ, कतै सितलचिनी पनि भनिन्छ।
कृषि विकास मन्त्रालयले नै उपलब्ध गराएको तथ्यांकअनुसार तराईका १३ जिल्लाको ६७ हेक्टरमा वार्षिक पाँच सय ५४ मेट्रिक टन सितलचिनी उत्पादन हुन्छ। यसको कलिलो कोसा बजारमा बिक्री हुन्छ र तरकारी खाइन्छ। तर, अन्य भागमा यसको उपयोगिताबारे आमउपभोक्तालाई अझ कसैले जानकारी दिएकै छैन।
सितलचिनीको फल पोषणयुक्त हुन्छ । यसमा कीरा पनि खासै लाग्दैन। व्यावसायिक उत्पादनमा धेरै सम्भावना रहेको सितलचिनी खेती सुरु गरियो, त्यहाँ करिब पाँच सय बोट सितलचिनी रोपिएको कुरा पत्रपत्रिकामा सानो समाचारका रूपमा मात्रै आयो। यस्तो महत्वपूर्ण कुरा, जसले देशको जनस्वास्थ्यमा सकारात्मक असर पार्न सक्छ, त्यसै बिलायो।
सितलचिनीको जरालाई कम पानी भए पुग्ने हुँदा थोरै पानी पर्ने ठाउँमा समेत यसलाई लगाउन सकिन्छ । यसलाई पाउडर बनाएर, बालबालिकालाई दिँदा उनीहरूको शरीरमा पौष्टिक तत्व पुग्छ। तर, यसमा स्वास्थ्य मन्त्रालयको ध्यान पुग्न सकेको पाइँदैन।
भिटामिन ‘ए’ को कमीले बालबालिकाको रोगसँग लड्ने क्षमता कम हुन्छ, अनि राति आँखा नदेख्ने समस्यासँगै झाडा–पखाला लाग्ने, श्वासप्रश्वासको समस्या हुने गर्छ। यसरी झाडापखाला र श्वासप्रश्वासको समस्या भएपछि बच्चालाई खान मन नलाग्ने, कुपोषण बढ्दै जाने र अन्तमा मृत्यु नै हुन्छ।
सितलचिनीले कुपोषण हुन दिँदैन भने कुपोषण भइसकेका बालबालिका वा वयस्कका लागि सञ्जीवनीको काम गर्छ। तर हामी धेरैलाई यसको गुण थाहा छैन। तराईको त घरघरम र सडकका छेउमा पनि यो वनस्पति हुन्छ।
यो वनस्पतिको विशेष गन्ध हुन्छ । संस्कृतमा यसलाई तीक्ष्णगन्धा पनि भन्दा रहेछन्। भारत वा नेपालमा यसलाई कसैले मरुङ पनि भन्छन्।
विज्ञका अनुसार सितलचिनीजस्तो गुण भएको बिरुवा अर्काे पाउन गाह्रै पर्छ । अनुसन्धानबाट पत्ता लागेको छ कि यसमा रहेको प्रोटिन भटमास, दूध, अन्डामा पाइने जत्तिकै गुणकारी हुन्छ र अझ कतिले त भटमासमा भन्दा बढी गुणयुक्त प्रोटिन यसमा पाउँछन्। गर्भवती आमालाई भिटामिन, फोलिक एसिड, भिटामिन सी आदि खान हामी स्वास्थ्यकर्मीले भन्छौँ। सितलचिनी खाउँ र कुपोषणबाट बालबालिकालाई बचाऔँ भन्दैनौँ। किनभने हामीलाई नै थाहा छैन, हामीलाई भान्छा घरका खानेकुराबाट पनि धेरै प्रोटिन पाइन्छ भनेर सिकाइएको छैन। घरको खानेकुराले शरीरमा प्रोटिन पुग्दैन भन्ने विज्ञापनमा विश्वास गर्छौं। अनि बट्टाका प्रोटिन किन्छौँ, घर आँगनको सितलचिनी होइन।
यो वनस्पतिबारे विश्व स्वास्थ्य संगठनले पनि पछिल्लो चार दशकदेखि अनुसन्धान गर्दै छ। अनुसन्धानबाट पत्ता लागेको छ कि सितलचिनीको पातमा कार्बोहाइट्रेट पनि हुन्छ। अर्थात् यसको पातको तरकारीले शरीरमा ऊर्जा पनि दिन्छ । यसका साथै पातमा भिटामिन सी, पोटासियम आदि पनि पर्याप्त पाइन्छ। एक शब्दमा भन्ने हो भने विभिन्न प्रकारमा भिटामिन र सूक्ष्म पोषण तत्व राखेर प्रकृतिले सित्तैमा दिएको उपहार हो यो। तर पौष्टिक उपहार नै अपहेलित छ।
अनि, स्वास्थ्य मन्त्रालयचाहिँ बालबालिका र गर्भवती आमालाई क्याल्सियम र प्रोटिन खानुपर्छ भनेर महँगो औषधि बाँड्दै हिँड्छ। तर, समुदायलाई करेसा वरिपरि सित्तैमा पाइने सितलचिनी खान भनेर सिकाउँदैन। विदेशीले किनेर दिए भने सिकाउँछ कि?
सितलचिनीको बीउबाट बनाइएको तेलचाहिँ ओलिभ तेल जत्तिकै राम्रो हुन्छ भनेर अनुसन्धानले देखाएको छ। ओलिभ तेल त ठूला पसलमा धेरै पैसा हालेर किन्छन् तर सितलचिनीबाट बनाइएको तेलबारे कसैले वास्ता नै गर्दैनन्।
सितलचिनी नहुने ठाउँमा पनि यसको पातलाई सुकाएर तरकारीमा वा दालमा प्रयोग गर्न सकिन्छ। यस्तो वनस्पति पाइने नेपालका बालबालिका कुपोषण हुनु भनेको त घरको आँगनमा सुनखानी भएर दरिद्र जीवन बिताउनुजस्तै हो।दक्षिण एसियामा पाइने यो वनस्पति हजारौँ वर्षदेखि घरेलु औषधिका रूपमा प्रयोग हुँदै आएको छ।
डा.अरुणा उप्रेतिको सामाजिक सन्जाल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय