पर्साको वीरगन्जस्थित सानो पाइला सहकारी ठगीमा अनुसन्धान सकिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए।
प्रहरीले सानोपाइला सहकारीमा ठगी र संगठित अपराध कसुरमा अनुसन्धान सकेको हो।
‘हामीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएका छौं। ४१ जनाविरूद्ध मुद्दा चलाउन सिफारिस भएको छ,’ उनले भने।
उनका अनुसार ३० जना व्यक्ति र ११ वटा संस्था/कम्पनीविरूद्ध मुद्दा चलाउन प्रहरीले राय दिएको हो।
जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी पनि प्रतिवादी छन्।
प्रहरीले कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ बिगो माग दाबी गरेको छ।
सभापति लामिछानेको हकमा ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ र जोशीको हकमा ३ करोड २४ लाख ३२ हजार ९९९ रुपैयाँ बिगो मागदाबी भएको छ।
Discussion about this post