नेकपा (माओवादी केन्द्र) ले आज देशभर एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ। आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि माओवादी केन्द्रले शनिबार वडा अधिवेशन गर्न लागेको केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ।नेकपा (माओवादी केन्द्र) ले आज देशभर नै वडा सम्मेलन गर्दैछ ।आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ।

माओवादीको निर्वाचन आयोगले देशभरका ६ हजार ७ सय ४३ वडामा निर्वाचन समिति बनाएको छ। निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ । माओवादीले ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासहित सम्मेलन गर्ने भएको हो । माओवादीले यस सम्मेलनले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास लिएको छ । समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका लागि वडा सम्मेलन गर्ने भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । माओवादीले वडा समितिको चयन गर्दा सकेसम्म सर्व सहमतिमा गर्न सबै वडालाई आग्रह गरेको छ । निर्वाचन हुने अवस्था आएको खण्डमा मर्यादित तरिकाले पार्टीको आन्तरिक लोकतन्त्रका रुपमा बुझेर सोही अनुसारको भूमिका निर्वाह गर्न सबै पार्टी पङ्क्तिलाई आग्रह गरेको छ ।
माओवादीले यही मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दैछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ । माओवादीले गठन गरेको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा सात सदस्यीय, पालिकामा पाँच सदस्यीय र वडा तहमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय