थ्री स्टार क्लबले शहीद स्मार ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबमाथि ३–० को जित निकाल्दै शानदार सुरुआत गरेको छ । तीन डिफेण्डरको तीन गोलसँगै तीन पटकको ‘ए’ डिभिजन च्याम्पियन थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री स्टारले च्यासल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै महत्त्वपूर्ण तीन अङ्क जोडेको हो ।
खेलको २२औं मिनेटमा निशानले करिब ३० यार्डबाट फ्रिकिकमा आकर्षक गोल गरेका थिए । ४४औं मिनेटमा रिमले हेड मार्फत २-० को अग्रता बनाए । खेलको ५८ औं मिनेटमा अनन्तले गोल गर्दै थ्री स्टारलाई ३-० को जित दिलाए । थ्री स्टारको जितमा डिफेण्डर निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले एक एक गोल गरे । थ्री स्टारले तिनै गोल “सेट पिस” मा भएको थियो । यता, पहिलो हाफमा च्यासलले पाएको पेनाल्टी सदुपयोग गर्न सकेन । इटालियन मूलका विकास मेराग्लीयाको प्रहार थ्री स्टारका गोलरक्षक प्रीसोले बन्च गरेका थिए ।
जितसँगै थ्री स्टारले पहिलो खेलमै महत्त्वपूर्ण ३ अङ्क जोडेको छ । थ्री स्टार तालिकाको शीर्ष स्थानमा रह्यो । च्यासलले भने हारबाट सिजनको सुरुआत गरेको छ । आज नै भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले १-१ गोलको बराबर खेल्दै अङ्क बाँडे ।लिग अन्तर्गत आइतबार दुई खेलहरू हुनेछ । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय