पत्रकारहरू पार्टीका प्रतिनिधि र सदस्य बनेको पाइएमा नेपाल पत्रकार महासंघले कारबाही गर्ने बताएको छ।

महासंघले आइतबार एक विज्ञप्ती जारी गर्दै विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरु दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेकोमा ध्यानाकर्षण भएको जनाएको छ।
राजनीतिक दलको कार्यकारी भूमिकामा निर्वाचित भएका आफ्ना विभिन्न समितिका पदाधिकारी र सदस्यलाई राजीनामा दिन आग्रह गरेको छ ।पत्रकार महासंघको केन्द्रीय समिति, प्रदेश समिति, शाखा समितिका पदाधिकारी र सदस्यले कुनै राजनीतिक दलको कार्यसमिति, प्रतिनिधि वा उम्मेदवार हुन नपाउने भन्दै महासंघले यदि उम्मेदवार बनेको भए उच्च नैतिकता प्रदर्शन गर्न आग्रह गरेको हो ।महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरिरहेको अवस्थामा तथा कुनै राजनीतिक दलको प्रतिनिधि वा उम्मेदवार बनेको अवस्थामा उच्च नैतिकता प्रदर्शन गर्न महासंघ आग्रह गर्दछ’ महासचिव रोसन पुरीले विज्ञप्तिमार्फत भनेका छन् ।उनले महासंघको विधानअनुसार ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी र सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन’ भन्ने कुरा व्यवस्था गरेको समेत उल्लेख गरेका छन्।

अहिले महासंघको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिका धेरै पदाधिकारी अहिले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अधिवेशनमा कार्यसमितिमा चुनिएका छन् भने महाधिवेशन प्रतिनिधि बनेका छन् । यसरी दलीय राजनीतिमा सहभागी भएकाहरुलाई महासंघ छाड्न आग्रह गरिएको महासंघका एक पदाधिकारीले बताए ।

कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने भन्दै महासंघले महासंघको कार्यकारी पदमा बहाल रहेको अवस्थामा पनि कुनै दलको चुनावमा उम्मेदवार हुने, प्रतिनिधि चयन हुने कुरा महासंघको विधान तथा पत्रकारिताको विश्वव्यापी मूल्यमान्यताको विरुद्ध रहेको बताएको छ ।दल वा भातृ संगठनको कुनै पनि तह वा विभागमा रहेर काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने समेत गर्न सक्नेतर्फ ध्यान दिन महासंघले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय