नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा र बन्दसत्र सौराहमा हुँदैछ । ललितपुरको गोदावरीमा विधान महाधिवेशन गरिसकेको एमालेले अब चितवन महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनको उद्घाटन मध्याह्नपछि हुने नेकपा एमालेले जनाएको छ । उद्घाटन अघि विभिन्न स्थानबाट जुलूस निस्किने छन् । ती जुलूस नारायणी नदी किनारमा पुगेर उद्घाटन सभामा परिणत हुनेछ । उद्घाटन समारोहमा पाँच लाख मानिस उतार्ने एमालेले दाबी गरेको छ ।भीड व्यवस्थापनका लागि भन्दै स्थानीय प्रशासनले पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ खण्ड र नारायणगढको मुख्य बजारक्षेत्रभित्र आज बिहान ९ बजेदेखि अत्यावश्यक सेवाका बाहेक अन्य सबै सवारी साधन प्रवेशमा रोक लगाएको छ ।उद्घाटन समारोहलाई अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । उद्घाटन समारोहमा सहभागी भएर एमालेलाई शुभकामना दिन कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पनि चितवन जाँदैछन् । विभिन्न राजनीतिक दलका नेताहरु र विदेशी पाहुनाहरुलाई पनि एमालेले महाधिवेशनमा निम्तो दिएको छ ।

उद्घाटन समारोह सकिएपछि भोलिपल्टदेखि सौराहाको होटल सेभेन स्टारमा बन्दसत्र आयोजना हुनेछ । बन्दसत्रमा २ हजार १७५ र पर्यवेक्षक १३० जना गरी कुल २ हजार ३०५ जना सहभागी हुने एमालेले जनाएको छ । महाधिवेशनका लागि देशभरबाट एमालेका प्रतिनिधिहरु चितवनमा भेला भएका छन् । यिनै प्रतिनिधिहरुले एमालेको नयाँ नेतृत्व चयन गर्नेछन् ।

हालसम्म अध्यक्ष पदमा केपी शर्मा ओली स्वाभाविक दाबेदार छन् । यद्यपि एमाले नेता भीम रावलले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एमालेका कतिपय नेताहरु भने सर्वसहमतिबाट अध्यक्ष र पदाधिकारीहरु चयन गर्नुपर्ने पक्षमा छन् । कतिपय भने निर्वाचनमा जानुपर्ने पक्षमा छन् । एमालेको नयाँ नेतृत्व चुन्न सहमतिमा जाने कि निर्वाचन गर्ने भन्ने यकिन हुनसकेको छैन ।
महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र ५ प्रतिशत मनोनित (१०६ जना) गरी दुई हजार १७५ प्रतिनिधि सहभागी पुग्छन् । महाधिवेशनमा १०३ जना पर्यवेक्षक छन् । एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन् । कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित छन् । महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी छ । १० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको छ । शुक्रबार बेलुका मात्रै प्रतिनिधि परिचयपत्र बाँडिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय