नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि बैंककबाट चीन लगिएको छ। पुनको उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन लगिएको उनको सचिवालयले जनाएको छ।

जटिल प्रकृतिको जण्डिसले सताएका कारण विगत डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारका लागि चीन लगिएको उनका पूर्व स्वकीय सचिव तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाँईले जानकारी दिएका छन्। नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेन्जेन उडेका छन्। उनीहरु शुक्रबार मध्याह्न अस्पताल पुगेर उपचार सुरु हुने चापागाँईले जानकारी दिए।

बैंककस्थित समितिभेज अस्पतालमा नेता पुनको उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार नदेखिएको भन्दै थप उपचारका लागि सेन्जेन लैजान सुझाव दिएका थिए।काठमाडौंबाट उपचारका लागि बैंकक जाँदा जण्डिस (बिलरुविन) को तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ। जण्डिससँगै शरिरका अन्य अंगहरुमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लैजानु परेको चापागाँईले बताएका छन्।

कोरोनाको संक्रमणको त्रास र आवत जावतमा चीन सरकारले लगाएको कडा मापदण्डका कारण थप उपचारका लागि चीन लैजानका लागि चिनियाँ पक्षसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पहल गरेका थिए।

जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंकक गएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय