अष्ट्रेलियाको टेस्ट क्रिकेट टिमको कप्तान पाट कुमिन्स हुने पक्का भएको छ । उनी अष्ट्रेलियाका ४७औँ टेस्ट कप्तान हुन् ।

त्यस्तै, उपकप्तानको जिम्मेवारी भने स्टिभ स्मिथले पाएका छन् । योसँगै स्मिथले अष्ट्रेलियन टोलीको नेतृत्वमा पुनरागमन गरेका छन् ।कुमिन्स अष्ट्रेलिया पुरुष टोलीको पूर्णकालीन कप्तान बन्ने पहिलो तीव्र गतिका बलर हुन् । त्यस्तै, रिचि बेनउडपछि कप्तान बन्ने पहिलो बलर हुन् । अष्ट्रेलियाका पछिल्ला सबै १८ कप्तान ब्याट्सम्यान थिए । सबैले सात नम्बरभन्दा माथि ब्याटिङ गर्थे ।

पूर्वकप्तान टिम पाइनले एक साताअघि अप्रत्याशित रूपमा कप्तानको जिम्मेवारीबाट राजीनामा दिएपछि अष्ट्रेलियाको टेस्ट क्रिकेट टिम कप्तानविहीन बनेको थियो । सन् २०१७ मा मैदानबाहिर अनुचित कार्य गरेको आरोप लागेपछि पाइनले एसेज टेस्ट शृंखला सुरु हुन तीन साता मात्र बाँकी हुँदा पदबाट राजीनामा दिएका थिए ।कुमिन्स आईसीसी टेस्ट बलरको सूचीमा शीर्ष स्थानमा छ । कप्तानको जिम्मेवारी पाएपछि कुमिन्सले भने, ‘‘एसेज टेस्ट शृंखलाअघि यस्तो महत्त्वपूर्ण जिम्मेवारी पाउँदा खुसी लागेको छ । आशा छ, पछिल्ला केही वर्ष पाइनले जुन हिसाबले टिममो नेतृत्व गरेका थिए, मैले पनि त्यही खालको नेतृत्व दिन सक्नेछु ।’’

त्यस्तै, स्मिथ पुनः अष्ट्रेलियन टोलीको नेतृत्वमा फर्किएका छन् । सबै स्वरूपको क्रिकेटको कप्तान रहेका स्मिथ २०१८ मा ‘बल टेम्परिङ’ कान्डमा फसेका थिए । त्यसपछि अष्ट्रेलियन क्रिकेट बोर्डले उनलाई दुई वर्षका लागि प्रतिबन्ध लगाएको थियो ।

स्मिथले त्यसपछि इन्डियन प्रिमियर लिगलगायत फ्रेन्चाइज लिगमा कप्तानको जिम्मेवारी सम्हालेका थिए । गत मार्चमा नेतृत्व गर्नमा लगाइएको प्रतिबन्ध फुकुवा भएको थियो । तीव्र गतिका बलर कप्तान भएकाले स्मिथको उपकप्तानको जिम्मेवारीलाई अर्थपूर्ण रूपमा लिइएको छ ।‘‘अष्ट्रेलियन टोलीको नेतृत्वमा पुनरागमन गर्न पाउँदा खुसी छु । र, उपकप्तानको रूपमा कुमिन्सलाई आफुले सक्दो सहयोग गर्नेछु,’’ स्मिथले भनेका छन्, ‘‘कुमिन्स र मैले लामो समयदेखि सँगै खेल्दै आएका छौँ । त्यसैले हामीले एकार्कालाई राम्रोसँग बुझेका छौँ । हामी राम्रो साथी पनि हौँ । हामी सकरात्मक क्रिकेट खेल्न चाहन्छौँ र अबको ध्यान एसेज टेस्ट शृंखलमा केन्द्रित गर्नेछौँ ।’’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय