नेपालको जनसंख्या ३ करोड नपुग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय जनगणना २०७८ को मुल गणनाबारे जानकारी दिन शुक्रबार केन्द्रीय तथ्यांक विभागले गरेको पत्रकार सम्मेलनमा २ करोड ८० लाख देखि ३ करोडबीच जनसंख्या रहने देखिएको जनाएको हो । जनगणनाको यकिन तथ्यांक आउन भने करिब २ वर्ष लाग्ने छ ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बाल मृत्युदर घटेको र जन्मदर पनि २.१ प्रतिशत रहेकाले देशको समग्र जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडबीचमा रहने देखिएको बताए । “यो प्रारम्भिक तथ्यांक हो । यसको यकिन तथ्यांक आउन केही समय लाग्छ,” उनले भने ।

राष्ट्रिय जनगणनाको मूल गणनामा छुटेकाहरुको तथ्यांक केही दिन अझै संकलन गरिने उनले बताए । “गणना अघि लिष्टिङ्गमा परेकाहरु जो मुल गणना कार्यमा छुट्नुभएको छ, उहाँहरुको गणना केही दिनसम्म गर्नेछौं” उनले भने । जनगणनामा समावेश हुन नपाएको गुनासो सर्वसाधारणबाट आएका कारण पनि यसलाई केही दिन निरन्तरता दिन लागिएको उनले बताए ।यस पटकको जनगणनामा सबै समुदाय सहभागी भएको पनि बताए । “राउटे, कायत समूदाय पनि जनगणनामा सहभागी हुनुभएको छ । सबै समुदाय राष्ट्रिय अभियानमा सहभागी हुनुभयो । १२औं संस्करणको राष्ट्रिय जनगणना सफलतापूर्वक सम्पन्न भएको छ,” उनले भने । उनले घरबारविहीन सडकमा बस्नेहरुको पनि गणना गरेको बताए ।

आगामी पुसदेखि विभागको डाटा सेन्टरमा जनगणनाको विवरण प्रशोधन शुरू गरी करिब ३ महिनापछि प्रारम्भिक नतिजा तथा १ वर्षपछि क्रमशः अन्तिम नतिजा र अन्य विषयगत प्रतिवेदनहरु प्रकाशन गर्ने समय तालिका रहेको महानिर्देशक श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय