Khabar Samachar

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

204
VIEWS

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम  सार्वजनिक गरेको छ।  आइतबार महानगरका प्रमुख बालेन्द्र शाहले महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

बानेनले ल्याएको नीति तथा कार्यक्रममा त्यस्ता धेरै घोषणाहरु छन्, जो चुनाव ताका बालेन र अन्य राजनीतिक दलहरुले आफ्नो घोषणापत्रभित्र समेटेका थिए । १४ जेठमा निर्वाचित भएका बालेनले छोटा अवधिमा चुनावी घोषणापत्रका वाचा र विभिन्न विज्ञ र सरोकारवालहरुको सुझावलाई समेटेर कार्यक्रम तयार गरेका छन् । उनले वडाध्यक्षहरुबाट समेत सहयोग लिनसक्ने गरी नीति तथा कार्यक्रममा अन्य दलका कार्यक्रमलाई पनि स्थान दिएका छन् ।

काठमाडौंको इतिहास, संस्कृति, सम्पदा र सभ्यताको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्नु हाम्रो पहिलो कर्तव्य हुन आएको छ, संस्कृतिमा आधारित पर्यटन काठमाडौंको सम्भावनाको पहिलो क्षेत्र हो,’ नीति तथा कार्यक्रममा उनले भनेका छन्,’ सुरक्षित सहरीकरण र सहरी सुव्यवस्था काठमाडौंको लागि अर्को सुधार गर्नुपर्ने क्षेत्र देखिएको छ ।’

नीति तथा कार्यक्रममा काठमाडौंको फोहर व्यवस्थापनको दीगो र वैज्ञानिक व्यवस्थापन प्रस्थान विन्दु बनेको भन्दै सरल र सहज तरिकाको सेवा प्रवाहका लागि सूचना गर्ने र  प्रविधिको उच्चतम प्रयोग, स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरण विकास गरी काठमाडौंलाई बस्न योग्य सहर बनाउने ध्येयमा महानगर अघि बढेको उल्लेख छ ।

आन्तरिक सुशासन र सवल प्रशासनतर्फ नीति तथा कार्यक्रम निर्देशित रहेको भन्दै मेयर बालेनले जनतासँग प्रत्यक्ष सम्बन्ध र सम्पर्क रहने वडा कार्यालयहरुको क्षमता विकास, श्रोत साधनमा वृद्धि र प्रणालीको विकास गर्ने नीति अवलम्बन गर्न प्रस्ताव गरेका छन् ।

‘शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशिलता, सामाजिक विकास, युवा तथा खेलकुद, भौतिक पूर्वाधार विकास, सार्वजनिक यातायात, खानेपानी तथा सरसफाई, विपद व्यवस्थापन, न्याय निरुपण, मानव अधिकार प्रवर्द्धन जस्ता विषयगत क्षेत्रहरुका लागि विशेष नीति तथा कार्यक्रम प्रस्ताव गरेको छु,’ उनले भनेका छन् । यिनै विषयहरु नै बालेनका घोषणापत्रका सार थिए ।

महानगरका मुख्य नीति तथा कार्यक्रमका आकर्षण योजनाहरु 
महानगरको नीति तथा कार्यक्रममा शिक्षा सुधार योजना तर्जुमा गर्ने भएको छ। विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा सीपमा स्वरोजगार हुनसक्ने जनशक्ति तयार पर्ने भएको छ। निजी विद्यालयहरुको शुल्क पुनरवलोकन गर्ने नीति तथा कार्यक्रममा छ।

दरबार हाइस्कुललाई राष्ट्रिय स्तरको नमूना विद्यालयको रुपमा सञ्चालन गर्ने आवश्यक प्रबन्ध मिलाउने उल्लेख रहेको छ। आवासीय संस्थागत विद्यालयमा कम्तीमा १ जना चिकित्सकको प्रबन्ध गर्ने व्यवस्था गर्ने उल्लेख रहेको छ।

स्वास्थ्य सम्बन्धी नीतिमा स्वास्थ्य सेवाको गुणस्तर र पहुँच अभिवृद्धि गर्न महानगर जनस्वास्थ्य ऐन जारी गर्ने भएको छ। महानगरपालिकामा कर तिरेका करदाताहरुको स्वास्थ्य बिमा गर्न आबश्यक प्रबन्ध मिलाइनेछ। बीमा शुल्कको बढीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ। एक विद्यालय एक नर्स र स्कुल सोसियल वर्कर कार्यक्रमलाई आवश्यकता अनुसार विस्तार गर्दै लगिनेछ।

एक वर्षभित्रमा महानगरक्षेत्रभित्र रहेका सडक, ढल, खानेपानी पाइपलाइन, सडक बत्ती, टेलिफोन लगायतका सबै भौतिक पूर्वाधारहरुको डिजिटल प्रोफाइल तयार गरी एकीकृत विवरण सङ्कलन गर्ने भएको छ। हाल संचालनमा रहेको पूर्वाधार एम्बुलेन्स सेवालाई विस्तार गरी निरन्तरता दिइनेछ। यसका लागि आबश्यक उपकरण तथा जनशक्तिको उचित व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ।

पैदलयात्रीहरुको सहज आवागमनका लागि फुटपाथको स्तरोन्नति,  बसस्टपहरुमा यात्रीहरुको विश्रामका लागि परम्परागत शैलीको फल्चा निर्माण, काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका बिद्युत, टेलिफोन, केवल टेलिभिजन, इन्टरनेट लगायतका तारहरु भूमिगत गर्ने कार्यलाई निरन्तरता दिइने उल्लेख रहेको छ।

निजी क्षेत्रसँगको सहकार्यमा सार्बजनिक शौचालयहरु संचालन तथा व्यवस्थापन गरी शौचालयको सुविधामा नागरिकको सहज पहुँच वृद्धि गर्ने कार्यलाई निरन्तरता दिइने उल्लेख छ। महानगर क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक, निजी, गैरसरकारी संघसंस्थाहरुको परिसरमा रहेको खाली जग्गामा पानी पुनर्भरणका लागि पोखरीको निर्माण गर्ने र बोरिङ्ग गरी आएको स्थानमा रिभर्स बोरिङ्ग गर्ने नीति ल्याएको छ।

साविकमा महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको वडा नं ११ स्थित भवनको प्रवलिकरण गर्ने, तिनकुनेको जग्गा बिबाद सामधान गरी आवश्यक पूर्वाधार निर्माणका लागि संघिय सरकारसगं समन्वय गरी गर्ने र   काठमाडौँ उपत्यकाको मेट्रो स्थापानाको सम्भाव्यता अध्ययन गर्न सरकारी तथा अन्य निकयाहरुसंग सहकार्य गर्ने उल्लेख छ।

यातायातलाई व्यवस्थित गर्न निजी क्षेत्र र अन्य नगरपालिका समेतको लगानीमा उपत्यका भित्र संचालनमा रहेका सार्बजनिक सवारी साधानमा  जीपीएस ट्रकिङ सिस्टम  सहितको सिसिटिभी जडान गर्ने छ। यात्रुहरुलाई विद्युतीय माध्यमबाट सवारी भाडा तिर्ने व्यवस्थाका लागि सहजीकरण र समन्वय गर्ने उल्लेख रहेको छ।

भर्टिकल पार्किङ निर्माणकालागि निजी क्षेत्रलाई सहुलियत प्रदान गर्ने उल्लेख रहेको छ। खुल्ला मञ्चमा रिभर्स बोरिङ सहितको भूमिगत पार्किङका लागि पूर्वधार निर्माण सम्भाव्यता अध्ययन गर्ने भएको छ।

संस्कृति सम्पदा तथा पर्यटनसंग सम्बन्धी नीतिमा बिश्व सम्पदा सूचीमा सूचिकृत पशुपती, बौद्ध, स्वयम्भू र बसन्तपुर क्षेत्रको संरक्षण गरिनेछ। स्वयम्भू र बौद्धको ब्यबस्थापन काठमाडौँ महानगरपालिका अन्तर्गत ल्याउन पहल गर्ने छ।

सार्वजनिक यातायातलाई प्रभावकारी बनाउन एक छुट्टै कम्पनी स्थापना गरी उपत्यकाभित्रका सबै सार्वजनिक यातायातलाई एउटै छातामुनि सञ्चालन गर्ने भएको छ। फुटपाथमा पसल राख्ने कार्यलाई निषेध गर्न आवश्यक प्रबन्ध मिलाउने नीति तथा कार्यक्रमा उल्लेख छ।

महानगरक्षेत्रभित्र मनाइने जात्रा,पर्व, मेला, पूजा, परम्परागत जीवनशैली एवं अन्य सांस्कृतिक सम्पदाहरुको मुख्य परिचयात्मक विवरण समेटी काठमाडौं महानगरको सांस्कृतिक प्रोफाइल बनाउने भएको छ। प्राचिन सभ्यताको धरोहरको रुपमा रहेको हाँडीगाउँ क्षेत्रमा आगामी आर्थिक वर्षमा सम्पदा पुनरुद्धार गर्दै होमस्टे सञ्चालनको व्यवस्था मिलाउने उल्लेख छ।

नेवाः समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्न पहल गर्ने व्यवस्था नीति लिएको छ। काठमाडौँमा संचालन हुने बिभिन्न जात्रा, पर्वहरुलाई अन्तराष्ट्रियस्तरमा परिचित गराई पर्यटन प्रवर्द्धन गर्नेछ। फोहोर व्यवस्थापन गर्न स्रोतमा नै वर्गिकरण गर्ने व्यवस्था मिलाउने भएको छ।

महानगरको सेवालाई चुस्त बनाउन सिसिटिभी जडान गर्ने छ। हरेक महिनाको पहिलो आइतबार जनतासँग मेयर कार्यक्रममार्फत प्रत्यक्ष संवाद कार्यत्रम सञ्चालमा ल्याएने भएको छ। एक वर्षभित्रमा काठमाडौं महानगरपालिकाको प्रथम आवधिक योजना  २०७९–२०८४ तर्जुमा गरी कार्यान्वयनमा ल्याइने भएको छ।

महानगर क्षेत्रभित्र घरजग्गा र जग्गा बहालमा लिने दिने कार्यलाई कम्पनीमार्फत व्यवस्थित गर्न आबश्यक प्रबन्ध मिलाइने कार्यक्रम रहेको छ।
७० वर्ष नाघेका वरिष्ठ ज्येष्ठ नागरिकहरुको घरमा गई स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइनेछ। ७० वर्ष नाघेका वरिष्ठ ज्येष्ठ नागरिहरुलाई काठमाडौँ महानगरपालिकाका वडा कार्यालयहरुसँग समन्वय गरी नेपाल सरकारले तोकेका औषधिहरु निःशुल्क उपल्ब्ध गराउन आवश्यक समन्वय गर्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित