जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले वीरगञ्जको बैठक स्थगित गरेर उपेन्द्र यादव पक्षलाई वार्ता गर्न आह्वान गरेका छन् । जडिबुटीमा सुरु भएको आफूपक्षीय केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै भट्टराईले वीरगञ्जमा बोलाएको बैठकमा आफूहरुलाई नबोलाएको नगएको बताएका हुन् ।
‘जनता समाजवादी पार्टी हामीले जन्माएको हो। वैधानिक ढंगले बैठक राख्न उपेन्द्र यादवलाई चुनौती दिन चाहन्छु। विधि र पद्धति नतोड्नुहोस्, वीरगन्जको बैठक रोकेर सहमतिमा आउनुहोस्।’
उनले पार्टीको केन्द्रीय समितिको बहुमत एकापट्टि रहेको र कार्यकारीणी अध्यक्षले बैठक नै नबोलाएको बताए।
भट्टराईले पार्टी रूपान्तरण र पुनर्गठन अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै पार्टीलाई विभाजन गर्ने आफ्नो कुनै मनसाय नरहेको जिकिर गरे।
उनले सरकारले गठबन्धन बन्दा तय गरिएका न्युनतम साझा कार्यक्रमको मर्म र भावनालाई सरकारलाई कार्यान्वयन गर्न नसकेकोसमेत आरोप लगाएका छन्।
यो सरकारको कार्यकालमा देशको अर्थतन्त्र र आर्थिक प्रशासनका गम्भीर समस्या देखा परेको उनले स्मरण गरे। देशमा करिब एक वर्ष लामो तरलता अभाव भएको भन्दै उनले अझै राम्ररी हल हुन नसकेको बताए।
अध्यक्ष भट्टराईले मुलुकमा युवा बेरोजगारी, श्रम पलायन, वैदेशिक परनिर्भरता बढ्दै गर्दा गठबन्धन सरकारमाथि जनअसन्तुष्टि र गुनासा बढ्नु स्वभाविक भएको बताएका छन् ।
‘वैदेशिक मुद्राको सञ्चिति कमजोर जोखिमपूर्ण अवस्थामा छ। भ्रष्टाचार, मूल्यवृद्धि र मंहगी आकासिएको छ,’ उनले भने, ‘अर्थमन्त्रीमाथि वित्तीय अपराध हुने गम्भीर आरोप लागेपछि राजीनामा गर्न बाध्य भएका छन्। राष्ट्र बैंकको स्वायत्तता र विश्वासनीयता संकटमा पर्ने गरी गभर्नरको बर्खास्ती र पुनर्वहाली भएको छ।’
जसपा नेपाललाई देशमा वैकल्पिक शक्तिको रुपमा निर्माण गर्न लागेको बताउदै उनले सङ्ख्या र बहुमत आफूसँग रहेको दावी गरे । उनले आफूहरुको बैठक नै वैधानिक रहेको पनि दावी गरे । जसपाका अध्यक्ष यादवले पार्टीमा कसैलाई जानकारी नदिइ एकलौटी रुपमा वीरगञ्जमा बैठक बोलाइएको कारण त्यो अवैधानिक रहेको बताए ।
Discussion about this post