पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवम् विश्व क्रिकेटकै चर्चित खेलाडी शाहीद अफ्रिदी ईपीएलमा खेल्न काठमाडौंमा आउने भएका छन। उनी इपिएल टिम काठमाडौं किंग्स-११ मा आबद्ध भएका हुन्। सोमबार एक कार्यक्रम आयोजना गर्दै टेलेहोल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले अफ्रिदीलाई ईपीएलमा ‘आइकोनिक इन्टरनेशनल प्लेअर’को रुपमा अनुबन्ध गरेको घोषणा गर्‍यो । जहाँ भेट्रान अलराउण्डर शाहीद अफ्रिदी स्वयं भिडियोमार्फत प्रत्यक्षरुपमा देखिएका थिए । उनले पनि आफू नेपाल आएर खेल्न उत्साहित रहेको वताएका थिए । ४४ वर्षीय अफ्रिदी आफ्नो समयका उत्कृष्ट अलराउण्डर हुन् । आक्रामक सट खेल्ने अनि लेगस्पीन समेत गर्न सक्ने अफ्रिदीले ओडीआईमै टी-२० शैलीमा ब्याटिङ गर्न शुरु गरेका थिए । अफ्रिदीले पाकिस्तानका लागि २७ टेस्ट, ३९८ एकदिवसीय र ९९ टी-२० ल खेलेका छन्। टेस्टमा ५ शतक हिर्काएका उनले एकदिवसीय खेलमा ६ शतक बनाएका छन्। उनले एकदिवसीय खेलमा ८ हजार रन बनाएका छन्। काठमाडौंका मालिक तथा टेलेहोल्डिङ्स प्रालिका डिरेक्टर रोहित गुप्ताले अन्य राम्रा विदेशी खेलाडी पनि अनुबन्ध गर्ने बताएका छन् । पछिल्लो संस्करणमा केभिन ओ ब्रयानसँगै युएईका रोहन मुस्ताफा, भारतका प्रदीप शाहु र सुब्रमनियम आनन्दले काठमाडौंबाट खेलेका थिए । यस्तै ईपीएलका आयोजक ईपीएल प्रालिका सीईओ आमिर अख्तरले पनि अफ्रिदीको खेल हेर्ने प्रतिक्षामा रहेको बताए । उनले भने, ‘शाहिद अफ्रिदी जस्ता प्रख्यात खेलाडीलाई आफ्नो टिममा सामेल गर्न सफल भएकोमा काठमाडौं किंग्स-११ लाई धेरै बधाई छ । शाहीद अफ्रिदी क्रिकेटको दुनियाँमा अलग्गै पहिचान भएको नाम हो र म उनलाई टीयू स्टेडियममा खेलेको र खेलप्रेमीहरुको भिडसँग अन्तरक्रिया गरेको हेर्न चाहन्छु । म विश्वस्त छु कि उनको अनुभवले हाम्रा स्थानीय खेलाडीहरुलाई हौसलाका साथै उनीहरुको प्रतिभाको क्षमता अन्तर्राष्ट्रियस्तरले बढ्नेछ ।’ इपिएल आगामी असोजमा हुने बताइएको छ। असोज ९ देखि २३ सम्म संचालन गर्न नेपाल क्रिकेट संघ (क्यान) र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) अनुमति दिएको आयोजकको भनाइ छ। गत सिजनको इपिएल अन्तिम समयमा स्थगित गरिएको थियो। कोरोना भाइरसका कारण आयोजकले २०७६ चैतमा तय भएको इपिएल स्थगित गर्न बाध्य भएको थियो। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने इपिएलमा ६ टिमबीच प्रतिस्पर्धा हुँदै आएको छ। जसमा काठमाडौंसँगै ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्स छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय