जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि ब्राजिल र स्पेन भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनलमा ब्राजिलले मेक्सिकोलाई र स्पेनले जापानलाई पराजित गर्दै फाइनल भेट पक्का गरे । ब्राजिल साविक विजेतासमेत हो । लगातार तेस्रो पटक फाइनल पुग्ने क्रममा ब्राजिलले सन् २०१२ को स्वर्ण विजेता मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गरेको हो । काशिमा सकर स्टेडियममा भएको पहिलो सेमिफाइनलमा ब्राजिल र मेक्सिकोबीच निर्धारित ९० र मिनेट र थपिएको ३० मिनेटमा समेत गोल हुन सकेन । गोलरहित बराबरी भएपछि खेलको नतिजा सुटआउटबाट लिइएको हो । जसमा ब्राजिलका लागि कप्तान डानी अल्भेज, गाब्रिएल मार्टिनेली, ब्रुनो गुइमाराएस र रेइनरले गोल गरे । मेक्सिकोका कार्लोस रोड्रिगेजले मात्र गोल गरे । एडुअर्डो अगुएरे र जोहान भास्क्वेजले गोल गर्न सकेनन् । यस्तै दोस्रो सेमिफाइनलमा स्पेनले घरेलु टोली जापानलाई १-० ले हरायो । अतिरिक्त समयमसम्म पुगेको खेलमा मार्को असेन्सिओले निर्णायक गोल गरे । साइतामा स्टेडियममा भएको खेलमा असेन्सिओले ११५ औं मिनेटमा मिकेल ओयाजाबालको पासमा गोल गरेका थिए । अब स्वर्णका लागि ब्राजिल र स्पेनबीचको खेल आगामी शनिबार हुनेछ । त्यसअघि शुक्रबार मेक्सिको र जापानबीच कास्य पदकका लागि खेल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय