Khabar Samachar

संघर्ष समितिले आन्दोलन फिर्ता लिँदा पनि फोहोर फाल्न अवरोध

230
VIEWS

बञ्चरेडाँडा र सिसडोलका स्थानीयले भदौ १ देखि गर्ने भनेको  संघर्ष समितिले आन्दोलन फिर्ता लिँदा पनि फोहोर फाल्न अवरोध भएको छ । 

फोहोर लिएर गएका गाडीलाई मंगलबार पनि बाटो छेकियो। प्रहरीले भीड नियन्त्रणमा लिन हवाई फायर गर्नुपर्‍यो।

सरकारले स्थानीय माग सम्बोधन गर्न प्राविधिक परामर्शदातासहितको अध्ययन समिति गठन गर्ने र तीन महिनाभित्र प्रतिवेदन दिने भनेपछि बञ्चरेडाँडा-सिसडोल संघर्ष समितिले आन्दोलन स्थगन गरेको थियो।

बञ्चरेडाँडा-सिसडोल संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाका अनुसार  ‘तीन महिना अध्ययन समितिलाई सहयोग गर्ने र त्यसपछि पनि माग सम्बोधन नभए नयाँ कार्यक्रम घोषणा गर्ने’ बताएका थिए।

संघर्ष समितिका संयोजकले नै सार्वजनिक रूपमा यस्तो भन्दाभन्दै मंगलबार फोहोरका गाडी किन रोकिए?

हामीले मंगलबार साँझ ढुंगानालाई ‘आन्दोलन फिर्ता लिँदा पनि फोहोर फाल्न किन अवरोध पुर्‍याएको’ भनी प्रश्न सोधेका थियौं। उनले आजको घटनामा आफूहरू संलग्न नरहेको बताएका छन्।

‘आज फेरि विरोध भयो भन्ने मैले पनि थाहा पाएँ,’ उनले भने, ‘यसमा हाम्रो हात छैन। सरकारले हाम्रा माग सम्बोधन गर्न काम सुरू गरेको छ भनेर चिठी पठाएपछि हामीले अहिलेको आन्दोलन फिर्ता लिइसकेका छौं।’

उनले अगाडि भने, ‘सरकारले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पार्न तीन महिना लाग्ने भनेपछि हामीले त्यति समय दिएका छौं। तै पनि त्यहाँ कुन समूहले गाडी रोक्ने काम गरिरहेको छ भन्ने हामीलाई थाहा छैन।’

जुन समूहले गरेको भए पनि बञ्चरेडाँडामा फोहोरका गाडी रोकिएपछि त्यसको जिम्मेवारी संघर्ष समितिले लिनुपर्छ कि पर्दैन भन्ने प्रश्नमा ढुंगानाको जवाफ थियो, ‘सिसडोल र बञ्चरेडाँडाका प्रभावित जनताका तर्फबाट हामीले नै लामो समयदेखि आन्दोलन गर्दै आएकाले त्यहाँ कुनै घटना हुँदा हामीमाथि जिम्मेवारी आउनु स्वाभाविक हो। हामीले सरकारलाई समय दिएर आन्दोलन फिर्ता लिइसक्दा पनि कुन समूहले बाटो छेक्ने काम गरिरहेको छ भन्नेमा हामी आफैं छक्क छौं।’

मंगलबारको घटनाले संघर्ष समितिमाथि दबाब आइपरेको उल्लेख गर्दै उनले भने, ‘हामी यसबारे स्थानीयसँग कुराकानी गर्नेछौं। कुनै समूहले अहिलेको अवस्थाबाट फाइदा उठाउन खोजिरहेको छ भने पहिचान गरेर किनारा लगाउने छौं।’

संघर्ष समितिले आफ्नो माग पूरा गर्न सरकारलाई साउन ३१ सम्मको अल्टिमेटम दिएको थियो। अल्टिमेटम सकिनु दुई दिनअघि मात्रै सरकारले प्राविधिक परामर्शदातासहितको समिति गठन गरेपछि आन्दोलन स्थगन गरिएको हो।

काठमाडौं महानगरपालिकाको वातावरण विभागका उपनिर्देशक सरिता राईका अनुसार – बञ्चरेडाडाँमा विभिन्न समूह, पार्टी र व्यक्ति सक्रिय रहेको उल्लेख गर्दै राईले तिनैमध्ये एक हुन सक्ने जानकारी दिइन्। कुन समूहले गरेको हो भन्ने चाहिँ उनले पनि खुलाउन सकिनन्।

उनका अनुसार यो समूहले आफ्नो आधिकारिक मागसमेत राखेको छैन।

‘श्रीराम ढुंगानाजीको समूहले सोमबार नै आन्दोलन फिर्ता लिने घोषणा गरेको हो,’ उनले भनिन्, ‘तर यहाँ विभिन्न समूहले पूर्वजानकारीबिनै आन्दोलन गर्ने गरेका छन्।’

उनले अगाडि भनिन्, ‘उहाँहरूको के, कस्तो माग हो, महानगरलाई पनि थाहा छैन। सरकारलाई भनेका छन् भने हामीलाई जानकारी भएन। उहाँहरूको माग फोहोर फाल्नै दिन हुन्न भन्ने हो कि के हो, केही पनि बताएका छैनन्।’

फोहोर व्यवस्थापनमा सहजीकरण गरिदिन स्थानीय तहका जनप्रतिनिधिहरूलाई बारम्बार पत्र पठाएर छलफल गरेको पनि राईले जानकारी दिइन्।

‘कुनै माग छ भने महानगरसँग वार्ता गर्न आउनुपर्‍यो,’ उनले भनिन्, ‘त्यसपछि बल्ल कुरा अगाडि बढ्छ। अहिले त आन्दोलन गर्ने को हो, उहाँहरूको माग के हो भन्ने पनि थाहा छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित