उच्च अदालत जनकपुरले निहारिका राजपुतका छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ। न्यायाधीशहरु भोजराज अधिकारी र रेखा थापा पाण्डेको इजलासले निहारिका राजपुतको माग बमोजिम उनको शिशु र बलात्कारको आरोप लागेका शिवराज श्रेष्ठको डीएनए परिक्षण गर्न आदेश दिएको हो ।
आदेशमा शिवराज श्रेष्ठ र पीडिताको छोरालाई उच्च सरकारी वकील कार्यालय, जनकपुर मार्फत् राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा पठाई बच्चाको आमा पीडिताको रोहबरमा डीएनए परीक्षण गराई परीक्षण प्रतिवेदन प्राप्त भएपछि पेश गर्न भनिएको छ ।
श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय धनुषाले अभद्र व्यवहार गरेको आरोपमा हिरासतमा राखेको छ । र उनले डीएनए परीक्षण गर्न आफू तयार रहेको बताएका छन् ।
आफ्नो शिशु र आरोपित श्रेष्ठको डीएनए परीक्षण हुनुपर्ने माग राखी राजपुत अनसन बसेकी थिइन् । माग सम्बोधन हुने आश्वासनपछि उनले अनसन तोडेकी हुन् ।
जिल्ला अदालत धनुषाले बलात्कार मुद्दाका आरोपित श्रेष्ठलाई सफाइ दिएको थियो । सफाई दिने न्यायाधीश पर्शुराम भट्टराई छानबिनका क्रममा सर्वोच्च अदालतमा तानिएका छन् ।
जिल्ला अदालतको फैसला विरुद्ध सरकारी वकिल उच्च अदालत जनकपुरमा गएको थियो । त्यही मुद्दा सुनुवाइका क्रममा उच्च अदालतले डीएनए परीक्षणको आदेश दिएको हो ।जिल्ला सरकारी वकिल कार्यालयले डीएनए परीक्षण माग गर्दै उच्च अदालतमा निवेदन दिने सहमति यसअघि नै भएको थियो।
Discussion about this post