नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नाग गरी अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ । ज्योतिषशास्त्र अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने जनमान्यता रहेको छ । नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरको द्वार(ढोका)मा टाँस्नाले सर्पको भय हुदैन भन्ने हिन्दू शास्त्रको मान्यता रहेको छ । पश्चिम नेपालका दैलेख, अछाम, कालिकोट, आदी जिल्लाहरूमा नाग पञ्चमीका दिन देखी हिउँद ऋतु सुरू हुन्छ भन्ने जनमान्यता रहेको छ। नेपालको सुदूर तथा मध्य पश्चिममा नाग पञ्चमीका दिन कागजमा नाग, गङ्गटो, बिच्छी जस्ता बिषालु जीवहरूका चित्र बनाएर पूजा गरी घरको दैलोमा टाँस्ने चलन छ भने बडिमालिका लगायत विभिन्न ठाउँमा छरिएर रहेका मालिका मन्दिरमा पूजा गर्न जाने श्रद्धालुहरूले व्रत गर्ने, भूमी सयन गर्ने र ब्रह्मचार्य धारण गर्ने चलन रहेको छ । नाग पञ्चमीका दिन नेपाल र भारतका विभिन्न नाग देवताको मन्दिरहरूमा नाग पञ्चमी मेला लाग्दछ। नागपञ्चमीका दिन व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई आफ्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ । त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लड्डू अर्पण गरी पूजासमेत गरेर निम्नाङ्कित नाग स्तोत्रको पाठ गर्ने गरिन्छ :-

ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमा:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीतो मम सवर्दा।१।
इन्द्रलोकेषु ये सर्पा: वासुकी प्रमुखादय:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।२।
कद्रबेयाश्च ये सर्पा: मातृभक्ति परामा।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।३।
इन्द्रलोकेषु ये सर्पा: तक्षका प्रमुखादय:।
नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा।५।
सत्यलोकेषु ये सर्पा: वासुकिन च रक्षता।
नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा।६।
मलये चैव ये सर्पा: कर्कोतक प्रमुखादय:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।७।
प्रार्थव्याचैव सर्पेभ्य: ये साकेत वासित।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।८।
सर्वग्रामेषु ये सर्पा वसंतिषु सञ्च्छिता।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।९।
ग्रामे वा यदिवारण्ये ये सर्पाप्रचरन्ति च।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।१०।
समुन्द्रतीरे ये सर्पाये सर्पाजलवासिन:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।११।
रसातंलेषु ये सर्पा: अनन्तादि महाबला:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।१२।

नागमन्त्र पाठ गर्न असम्भव भए ॐ कुरुकुल्ये हुँ फट स्वाहा मन्त्रको ९००० पटक जाप गर्ने गरिन्छ।

नागगायत्रीको मन्त्र (ॐ ‍‍‍‍‍‍‍‍‍‍‍‍‍नव कुलाय विध्महे विषदंताय धीमहि तन्नो सर्पः प्रचोदयात्)को समेत एक माला (१०८ पटक) जप गर्ने गरिन्छ। यो नागमन्त्रको तीन माला जाप गर्दा नाग देवता प्रसन्न हुन्छन् भन्ने जनविश्वास छ। नागदेवतालाई श्रीखण्डको सुगंध विशेष प्रियकर हुन्छ । त्यसैले नागपूजामा श्रीखण्ड चन्दनको प्रयोग गर्नु राम्रो मानिन्छ, त्यस्तै नागपञ्चमीको दिनको पूजामा नागलाई मनपर्नेसेतो रङ्गको प्रयोग धेरै गरिन्छ । नागपूजामा सेतो कमलको प्रयोग गर्ने विधान छ, यस्तै नागपञ्चमीको दिनमा यी सम्पूर्ण कृत्य(कार्य) गर्न सक्दा कालसर्प योग दोषको शान्ति पनि हुन्छ भन्ने मान्यता पनि जनमानसमा रहेको छ ।
विकिमिडिया

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय