Khabar Samachar

काठमाडौं–२ मा माओवादीको ‘इन्ट्री’

255
VIEWS

काठमाडौ निर्वाचन क्षेत्र नम्बर २ मा जितेका माधव नेपाल यो पटक एमालेमा छैनन् । नेता नेपाल ५ वर्षको अवधिमा एमालेमा नभएका मात्रै होइनन्, २०७४ को पार्टी र त्यसबेलाको समीकरणभन्दा भिन्न समीकरणबाट चुनावी प्रतिस्पर्धामा सामेल हुँदैछन् ।

सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय पेचिलो बनिरहेका बेला सुरुमा नेकपा एकीकृत समाजवादीले दावी गरेको यो निर्वाचन क्षेत्रमा सहमति जुटाउन भन्दै गठबन्धनका शीर्ष नेताको छलफलमै अध्यक्ष नेपालले काठमाडाैं २ बाट ‘वाकओभर’ हुन तयार भएका हुन् । बालुवाटारमा भएको पछिल्लो छलफलअनुसार अध्यक्ष नेपालले काठमाडाैं २ छाड्नुपरे काठमाडौं जिल्लाका १० मध्ये २ निर्वाचन क्षेत्र नछोड्ने अडान राखेका छन् ।

‘शीर्ष तहको पछिल्लो छलफलमा काठमाडौं २ मा एकीकृत समाजवादीले गरेको पुरानो दावी छाडेको छ’, सिट बाँडफाँट गर्न गठित ५ दलीय गठबन्धनको कार्यदलका एक सदस्यले रातोपाटीसँग भने, ‘माधव नेपालले काठमाडाैं २ छाडेपछि माओवादीले दावी गर्न पुगेको छ ।’ ति नेताका अनुसार एकीकृत समाजवादीले काठमाडौं २ छोड्दा त्यसको सट्टा ९ पाउनुपर्ने प्रस्ताव गरेको छ । यसो हुँदा यसअघि जीवनराम श्रेष्ठले जितेको काठमाडाैं ८ र २ को साटो ९ पाउनुपर्ने दावी गर्नु स्वभाविक भएको एकीकृत समाजवादीका एक नेताको भनाइ छ । काठमाडाैं निर्वाचन क्षेत्र नम्बर ९ मा यसअघि एमालेकै कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका थिए ।

‘सकभर हामीले २ नै भनेका हौं, सहमतिमा अरुलाई त्यो छाड्नुपर्दा अर्को ९ खोज्नु स्वभाविक हो’, ति नेताको भनाइ छ । चुनावी सिट बाँडफाँटका लागि कार्यदल गठन हुँदै गर्दा यसअघि कांग्रेसले माधव नेपाल आफै लडे सघाउन सकिने नत्र कांग्रेसले सो क्षेत्र पाउनुपर्ने माग गर्दै आएको थियो । उक्त क्षेत्रमा सुरुमा नेकपा समाजवादी र त्यसपछि कांग्रेस हुदै माओवादीको दावी इन्ट्री हुन पुगेको हो । एकीकृत समाजवादी काठमाडौं–२ क्षेत्रीय समितिले नेता नेपाललाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय समेत गरिसकेको थियो । तर नेता नेपाल काठमाडौं छाडेर रौतहट १ बाट चुनाव लड्न इच्छुक भएपछि अन्य दललाई दावी पेश गर्न सहज भएको हो ।

माधव नेपाल काठमाडौं २ आफूले छाडेर आफ्नै पार्टीका कोही नेतालाई चुनाव लडाउन चाहन्थे । उनले आफू काठमाडाैं २ छाड्ने भएपछि नेताहरुलाई तयारी समेत गर्न भनिसकेका थिए । नेता नेपालले एकीकृत समाजवादीकै उपाध्यक्ष समेत रहेका प्रमेश हमाल, नेता रमेश ढकाल तथा भविश्वर न्यौपानेलाई संघीय संसदको उम्मेदवारको तयारी गर्न निर्देशन पनि दिएका थिए । तर, परिस्थिति बदलिएसँगै यो क्षेत्रमा नेकपा समाजवादी पछि हट्दा माओवादीले शसक्त दावी गर्न पुगेको छ । त्यसमा वर्षमान पत्नी ओनसरी घर्ती र झक्कुप्रसाद सुवेदीमध्ये एकलाई चुनावी प्रतिस्पर्धा गराउने तयारी गरेको छ । माओवादीले घर्ती र सुवेदीलाई सिफारिस नै गरिसकेको छ ।

त्यस्तै कांग्रेसले दीपकप्रसाद कुईंकेल, मनिष कोइराला, कविर शर्मा फुयाँल, लोकेश ढकाल र माधवी भट्टलाई अघि सारेको छ । यीमध्ये कुईकेल २०७४ को निर्वाचनमा माधव नेपालका प्रतिस्पर्धी हुन् । उनले त्यसबेला १४३०२ मत पाएका थिए । काठमाडौं २ मा शंकरापुर, कागेश्वरी मनोहराको ४ देखि ९ सम्मका वडा साथै महानगरको ९ र ३२ वडा पर्दछन् । काठमाडौं २ मा गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा एमाले १७ हजार ३२८ मतसहित पहिलो दल बनेको थियो । त्यस्तै कांग्रेस १४ हजार १२८, एकीकृत समाजवादीले ७ हजार ९११, राप्रपा ७ हजार २०० र माओवादी ३ हजार १३१ मत पाएका थिए । एमालेले यो क्षेत्रबाट मणिराम फुँयालको नाम सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित