नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी सत्ताको हतियार मात्र हुन लागेको बताएका हुन् ।
उनले भने, ‘हामीले आफ्नै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको छ । आफ्नै पार्टीभित्र ठूलो विद्रोह गर्नुपर्ने बेला आएको छ । नत्र त पार्टी मात्र सत्ताको हतियार हुनेभयो ।’पार्टीमा अहिले चर्को असन्तुष्टि रहेको भन्दै उनले भने, ‘सन्तुलन भएन, पार्टी भित्र सबैलाई सही ढंगले हेरिएन भन्नेछ । यो सबै कुरालाई चिर्नको लागि अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यक्ताको बोध हुन थालेको छ । यसको लागि युवाहरुको उपस्थितिले तागत बढाएको छ । युवाहरुलाई निराश बनाउँदिन ।’
उनले अहिलेको संसदीय व्यवस्था चुनावदेखि चुनावसम्मको गोलचक्करमा फस्दै गएको पनि बताएका छन्।
‘अहिलेको संसदीय व्यवस्था चुनावदेखि चुनावसम्मको गोलचक्करमा फसेको छ। चुनाव लड्ने र सत्तामा पुग्ने होडले पार्टीहरु पार्टी जस्ता रहेनन्’, उनले भने, ‘नेपाली कांग्रेस जुन उद्देश्यका साथ स्थापना भएको हो। त्यो उद्देश्यकासाथ अघि बढ्न सकेन। यो चिन्ताजनक अवस्था हो।’
नेपाली राजनीति दलहरुको उद्देश्य चुनाव लड्ने र सत्तामा पुग्ने मात्रै भएको तर्क उनले दोहोर्याए।
थापाले पार्टीभित्रको अवस्था नै त्यस्तै रहेको बताउँदै कसैलाई निराश बनाउन यो कुरा नबोलेको पनि उल्लेख गरे। ‘मैले निराशाका कुरा गरेको होइन। अहिलेको अवस्था नै यस्तो छ’, उनले भने, ‘युवाहरू कांग्रेसमा प्रवेश गरेकाले मलाई केही उत्साहित बनाएको छ।’
कांग्रेस र आफूप्रति भरोसा गरेर प्रवेश गरेका युवाहरुको भावनालाई आफूले मर्न नदिने प्रतिबद्धता उनले व्यक्त गरे।
Discussion about this post