माधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम फेरेको छ । यसअघि नेकपा एमाले समाजवादी नाम राखिएको अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ ।निर्वाचन आयोगले उस्ताउस्तै नाम राख्न नमिल्ने बताएपछि नेपाल समूहका नेताहरूले यसअघि राखिएको नेकपा एमाले (समाजवादी) नाम बदलेका हुन्। नयाँ पार्टीको नाम नेकपा एकीकृत समाजवादी राखेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए। बुधबार मात्र नेकपा एमालेबाट अलग भएको नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताए ।
उनीहरूले केही दिनअघि जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेश र सोही अध्यादेश बमोजिम बनेको नियमावली अनुसार दल विभाजन गरी नयाँ दल दर्ताको निवेदन दिएका हुन्। नेपाल पक्षले यसअघि आयोगमा नेकपा (एमाले-समाजवादी) र चिन्ह खुला किताव प्रस्ताव गरेको थियो । एमाले-समाजवादी एमालेसँग मिल्दोजुल्दो भएको र खुल्ला किताब अर्कै पार्टीको रहेको भन्दै आयोगले नयाँ नाम र चिन्हसहित आउन भनेको हो । योसँगै नेपालले एमालेको ब्राण्ड छाडेका छन् ।दल दर्ताका लागि निवेदनमा उल्लेखित केन्द्रीय सदस्यहरुको सनाखत लगायतको प्रक्रिया पूरा गरेपछि आयोगले नयाँ दललाई वैधानिकता दिने कानूनी प्रावधान रहेको छ । यसका लागि आयोगले ३५ दिन लिन सक्ने भए पनि चाँडै टुंगो लगाइने आयोगका एक पदाधिकारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय