प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तासाझेदार दलहरूका कारण मन्त्रिपरिषद विस्तार गर्न नसकेका हुन् । प्रधानमन्त्री देउवाले अब आउने शुक्रबारभित्र मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् । माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले एकहप्ताभित्र मन्त्रिमण्डल विस्तार हुने बताएका छन् । उनले माधव नेपाल समूहको दल दर्ता हुनेवित्तिकै मन्त्रीहरूले शपथ लिने बताए । विस्तार हुने मन्त्रिपरिषदमा गठबन्धन दलको बराबरी हैसियतमा प्रतिनिधित्व हुन सक्ने पौडेलले बताएका छन् । गठबन्धनका पाँच दलमध्ये राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी हुनेछैन । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र माधव नेपालको पार्टीबीच ६–६ मन्त्रालयको भागबन्डा हुने प्रारम्भीक सहमति भएको छ ।नेता पौडेलले भने, ‘निर्वाचन आयोगले माधवकुमार नेपालको पार्टीको सनाखत गरेपछि पाँच दलको सहमतिमा मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

‘अहिले फरक परिस्थितिमा सरकार बनेकाले सदनको प्रतिनिधित्वभन्दा पनि सम्मानजनक प्रतिनिधित्वको कुरा उठेको छ’, उनले भने, ‘संविधानअनुसार २५ भन्दा बढी मन्त्री बनाउन पाइँदैन ।’

‘मन्त्रालय २१ वटा मात्र छन् । चार जनालाई राज्यमन्त्री बनाउनुपर्छ’, पौडेलले भने, ‘बराबरी हैसियतमा ६–६ मन्त्रीको प्रतिनिधित्व गर्ने अनौपचारिक कुराकानी भएको छ ।’

उनले भने, ‘अब यो सरकारको आयु डेढ वर्ष मात्र छ । सरकारको आयु छोटो छ । चुनौती बढी छ । अब मिलेर जाँदा नै संविधान र प्रणालीको रक्षा हुन्छ । यसरी नै प्रदेशको सरकार पनि चलाउनुपर्ने हुन्छ ।’

माओवादीका नेता पौडेलले गठबन्धन दलका साथीहरूले उप–प्रधानमन्त्रीको चाहना राखे पनि राज्यले व्ययभार हुने गरी निर्णय गर्न नहुने बताएका छन् । महन्थ ठाकुर समूह सरकारमा जानेबारे कुरा नभएको उनले बताएका छन् ।

‘उहाँहरूले सरकारलाई विश्वासको मत दिनुभएको हो’, पौडेलले भने, ‘सरकारमा जान के गर्नुहुन्छ, यसै भन्न सकिँदैन ।’ उनले वामपन्थी दलहरूका बीच ध्रुवीकरण बढेको र प्रचण्डको नेतृत्वमा वामपन्थी, प्रगतिशील दलको एकता हुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय