रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा उजुरी

206
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ।

मंगलबार उनीविरूद्ध आयोगमा उजुरी परेको आयोगका उपन्यायधीवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए। उनले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उक्त जानकारी दिएका हुन्।

विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो। उनीविरूद्ध राजकुमार पाण्डेले उजुरी दिएका हुन्।

सन् २००२ मा लामिछाने भिजिट भिसामा अमेरिका गएका थिए। पछि उनले नेपाली नागरिकता कायमै राखेर अमेरिकी नागरिकता लिएका थिए। नेपाल फर्किँदा पनि उनीसँग अमेरिकी नागरिकता छँदै थियो। त्यही कारण अप्ठ्यारोमा पर्दै गएपछि उनले आफ्नो पासपोर्ट काठमाडौंस्थित अमेरिकी दूतावासमा बुझाएको बताएका थिए।

तर उनले नागरिकता त्यागेको बताए मात्रै वा प्रक्रिया पूरा गरे भन्ने यकिन भइसकेको छैन।

अर्कातिर कुनै पनि नेपाली नागरिकले विदेशी नागरिकता लिइसकेपछि त्यो नेपाली नागरिकता स्वतः खारेज हुने उजुरीकर्ताहरूले बताएका छन्। उनीहरूका अनुसार विदेशी नागरिकता लिएको व्यक्तिले नेपाल फर्केर विदेशी नागरिकता त्याग गरेपछि पुनः नयाँ नेपाली नागरिकता लिनुपर्छ। खारेज भइसकेको पुरानो नेपाली नागरिकता मान्य नहुने उजुरीकर्ताहरूको भनाइ छ।

उजुरी आएसँगै कानुनी व्यवस्थाअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरेको बताए।

उनले निर्वाचन अधिकृतले लामिछानेबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित