सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डको आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा लाेकबहादुर कार्की रहेका छन् । उनी हत्या गरिएका कार्की परिवारका आफन्त हुन् ।गत सोमबार मादी नगरपालिका-१ का  बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।सुरुमा तेजबहादुरको हत्यापछि परिवारका अन्य सदस्यको हत्या भएको स्रोतको दाबी छ ।मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ। प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने भनेको छ।  लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको हथौडा र रगतले लतपतिएको कपडा बराबद भएको प्रहरीले जनाएको छ।‘केही कुराहरूको पुष्ट्याइँ गरेर हामी भोलि आरोपित व्यक्तिलाई सार्वजनिक गर्ने छौं,’ अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक भीमबहादुर दाहालले सेतोपाटीसँग भने।

प्रहरीका अनुसार कार्की केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए।  ‘हामी अनुसन्धानको निष्कर्षमा पुगेका छौं, घटनाबारे विस्तृत रुपमा भोलि पत्रकार सम्मेलनमा भन्नेछौं,’ दाहालले भने। प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले हत्या आरोपमा एक युवालाई पक्राउ गरिएको बताए। उनले केही काम बाँकी रहेकाले आइतबार आरोपितलाई सार्वजनिक गर्दा विस्तृतमा खुलाइने बताए। परिवारका ६ जनाकै छुट्टाछुट्टै स्थानमा शव फेला परको थियो। उनीहरूको चार वटा ठाउँमा शव फेला परेको थियो। उनीहरूलाई पालैपालो टाउकोमा प्रहार गरेर हत्या गरिएको थियो। पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा उनीहरूको मृत्यु ‘ब्लन्ट फोर्स इन्जुरी’ले भएको खुलेको थियो।

पारिवारीक दुश्मनीका कारण घटना भएको प्रहरीले जनाएको छ। मृतकको घरमा रहेको धन सम्पत्ति सुरक्षित रहेको हुनाले आर्थिक कारण घटना नभएको निष्कर्ष प्रहरीको छ। घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात रहेको प्रहरीले अनुमान गरेको थियो । सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले स्थानीय कार्कीलाई पक्राउ गरेपछि घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । व्यक्तिगत रिसिबीका कारण हत्या भएको प्रहरीले जनाएको छ । घटना एकाबिहानै भएको पनि अनुसन्धानमा खुलेको छ। प्रहरीका अनुसार घटना साढे ५ देखि ६ बजेको बीचमा भएको देखिएको छ। कार्कीले सुरूमा तेजबहादुरलाई प्रहार गरेको र त्यसपछि क्रमश: पालैपालो अरूलाई प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार आरोपीले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरीसमक्ष आफ्ना अपराध कबुल गरेको हो । घटनास्थलमा सिआईबीका डिएसपी रुगम कुँवर नेतृत्वका ३ जना प्रहरी अधिकारी अनुसन्धानका लागि खटिएका थिए । यद्यपि घटनास्थलमा खटिएका प्रहरीले भने यस सम्बन्धमा केही बताउन चाहेका छैनन् । ठूला अपराधका घटनाको अनुसन्धानमा सक्रिय सिआईबीलाई यो घटनामा पनि सफलता प्राप्त भएको हो । यसअघि बैतडीमा भएको भागरथी हत्या प्रकरण र बझाङमा भएको सम्झना विकको हत्या अनुसन्धानमा पनि सिआईबीले नै अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय