दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा नेपालले गोल गर्ने केही अवसर पाएपनि फिनिसिङ गर्न सकेन । दुवै हाफमा नेपालकी सरू लिम्बुको प्रहार बंगलादेशकी गोलकिपरले विफल पारेकी थिइन्। यस्तै पहिलो हाफमा बंगलादेशकी खेलाडीको प्रहार क्रसबारमा लागेको थियो।दुवै टोलीले गोलका थुप्रै अवसरहरु गुमाएका थिए । नेपालले विपक्षी टोलीको पोष्टमा चारवटा प्रहार गरे पनि गोल गर्नबाट चुक्यो । बंगलादेशविरुद्धको पहिलो खेलमा भने नेपाल २–१ गोलले विजयी बनेको थियो । उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो।

दोस्रो खेलमा मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो खेलमा पहिलो रोजाईमा तीन खेलाडी परिवर्तन गरेका थिए । उनले गोलकिपर एन्जिला सुब्बा, मिडफिल्डर मन्जली कुमारी योन्जन र अघिल्लो खेलमा डेब्यू गर्दै गोल गरेकी सबिता रानाको स्थानमा अन्जना राना मगर, अनिता बस्नेत र रश्मि कुमारी घिसिङलाई पहिलो रोजाइमा खेलाएका थिए।

अघिल्लो खेलमा नेपालले २३ मिनेटभित्रै दुई गोल गरेको थियो । तर दोस्रो खेलमा भने बंगलादेशले सुरुवातदेखि नै राम्रो खेलेको थियो । पहिलो हाफमा दुवै टोलीले गोलका केही अवसर आएपनि सदुपयोग गर्न सकेनन् । नेपालको सरु लिम्बु र विमला चौधरीले गोलको अवसर पाएपनि फिनिसिङ राम्रो हुन सकेन । यस्तै बंगलादेशी गोलकिपर रुपना चक्माले केही राम्रो बचाउ गरिन् । दोस्रो हाफमा नेपालले दुई खेलाडी परिवर्तन गरेपनि गोल हुन सकेन । ६६ औं मिनेटमा रश्मी घिसिङ र अनिता बस्नेतको स्थानमा सबिता राना र अनिता केसी म‌ैदान प्रवेश गरेका थिए । ८९ औं मिनेटमा नेपालकी रजनी थोकरले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै डेब्यु गरिन् । उनी प्रिती राईको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय