आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाल ५ विकेटले विजयी भएको छ । अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९.३ ओभरमा पाँच विकेट गुमाएर भेट्टाएको हो । नेपालका लागि कुशल भुर्तेल र रोहित पौडेलले अर्धशतक पूरा गर्दै सर्वाधिक रन बनाए ।

अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । यस्तै ओमान टुरमा लयमा रहेका रोहितले अर्धशतक प्रहार गरे । रोहितले अविजित ६२ रन जोडे । उनले यसअघि पपुवा न्यु गिनीविरुद्धको सिरिजको दोस्रो खेलमा ८६ रन बनाएका थिए । विनोद भण्डारीले ३७ रन योगदान गरे ।

अमेरिकाले दिएको मध्यम लक्ष्य पछ्याउने क्रममा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई गतिलो सुरुआत दिलाएका थिए । कुशल र आसिफले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरे । ओडीआईमा नेपालले ओपनिङमा सर्वाधिक साझेदारीको कीर्तिमान पनि बनायो । यसअघि २०१९ मा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले युएईविरुद्ध पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए ।

नेपालको पहिलो विकेटको रुपमा आसिफ शेख २३ रन बनाएर आउट भए । उनले ४२ बल खेल्दै २ चौका प्रहार गरे । आसिफलाई नास्थुस केन्जिगले निसर्ग पटेलबाट क्याचआउट गराए ।  त्यसपछि कुशल र कप्तान ज्ञानेन्द्रले नेपालको इनिङ्स अघि बढाए । तर स्कोर ९३ हुँदा ज्ञानेन्द्रले व्यक्तिगत १७ रन बनाएर आउट भए । १५ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्रलाई निसर्ग पटेलले एलबीडब्लु धरापमा पारे । एक छेउबाट इनिङ्स सम्हालिरहेका कुशलले तेस्रो विकेटका लागि रोहित पौडेलसँग ५१ रनको अर्धशतकीय साझेदारी गरे ।  तर ३३औं ओभरको पहिलो बलमा कुशल निसर्ग पटेलको बलमा एलबीडब्लु भएपछि यो साझेदारी टुट्यो । ओडीआईमा पहिलो अर्धशतक बनाएका कुशलले ९३ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा ८४ रन जोडे । त्यसपछि पाँचौ नम्बरमा ब्याटिङ गर्न क्रिज पुगेका कुशल मल्ल १ रन मात्र बनाएर आउट भए । मल्ल  ३४औं ओभरमा कप्तान सौरभ नेत्रभाल्करको बलमा मोनाक पटेलबाट क्याचआउट भए । कुशल मल्ल आउट हुँदा नेपालको स्कोर १४५-४ थियो ।

त्यसपछि रोहितले विकेटकिपर विनो भण्डारीसँग मिलेर नेपालको इनिङ्स अघि बढाए । यो जोडीले पाँचौ विकेटका लागि ८३ रनको साझेदारी गरे । नेपाललाई जितका लागि ३ रन आवश्यक हुँदा विनोद भण्डारी ३७ रन बनाएर ४९औं ओभरको दोस्रो बलमा आउट भए । भण्डारीले ४८ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे ।

४९औं ओभरको अन्तिम बलमा २ रन लिँदै नेपाललाई जित दिलाएका रोहितले ८७ बल खेल्दै २ चौका र ३ छक्का मद्ददतमा अविजित ६२ रन बनाए । करण केसी १ रनमा अविजित रहे । अमेरिकाका लागि निसर्ग पटेलले १० ओभरमा १ मेडन राख्दै ३३ रन खर्चेर २ विकेट लिए । नास्थुस केन्जिगले ८ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए । यस्तै कप्तान नेत्रभाल्करले १० ओभरमा १ मेडन राख्दै ३० रन खर्चेर १ विकेट लिए । ओमानको मस्कटस्थित अल अमरेत मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २३० रन बनाएको थियो ।

अमेरिकाको लागि विकेटकिपर ब्याट्सम्यान मोनाक पटेलले शतक प्रहार गरे । यसअघि टस जितेर ब्याटिङ गरेको अमेरिकाले मोनाङ्क पटेलको शतकको मद्दतमा ९ विकेटको क्षतिमा २३० रन बनाएको थियो। सात राष्ट्र समावेश आईसीसी क्रिकेट विश्वकप लिग २ मा आजको जितपछि नेपाल पाँच खेलबाट ६ अंकसहित छैटौँ स्थानमा यथावत् छ। अमेरिका भने १३ खेलमा १२ अंकसहित दोस्रो स्थानमा छ। अब नेपालले मंगलबार अंक तालिकाको शीर्ष स्थानमा रहेको ओमानसँग प्रतिश्पर्धा गर्नेछ। ओमानको १० खेलबाट १६ अंक छ। तेस्रो नम्बरमा ब्याटिङ गरेका मोनाकले ११४ बल खेल्दै ९ चौका र १ छक्का मद्दतमा १०० रन बनाए । यस्तै निसर्ग पटेलले २१ रन जोडे । तेस्रो विकेटका लागि मोनाक र निसर्गले ४९ रनको साझेदारी गरेका थिए ।

यस्तै ओपनर सुशान्त मोदानी र करिमा गोरेले १६-१६ रन जोड्दा अर्का ओपनर स्टेभेन टेलरले १४ रन जोडे । नास्थुस केन्जिगे र सन्जय कृष्णमुर्तीले समान १३ रन बनाए । जसकरण मल्होत्राले ११ रन जोडे । अमेरिकाका अभिषेक पाराडकार १३ र कप्तान सौरभ नेत्रभाल्कर ६ रनमा अविजित रहे । एलमोर अचिनसनले खाता खोल्न सकेनन् । नेपालका लागि सन्दीप लामिछाने, सुशन भारी,  विक्रम सोबले  २-२ विकेट लिए । यस्तै  कुशल मल्लले १ विकेट लिए । अमेरिकाका दुई खेलाडी रनआउट भएका थिए । सुशन भारीले १० ओभरमा ३१ रन मात्र खर्चेका थिए । सन्दीपले १० ओभरमा २ मेडन राख्दै ३५ रन खर्चिए । कुशल मल्लले पनि पूरै स्पेल बलिङ गर्दा १० ओभरमा ४५ रन खर्चिए ।

अमेरिकालाई हराएपछि नेपालले लिग २ मा तेस्रो खेल जित्दै ५ खेलबाट ६ अंक जोडेको छ । नेपालले सिरिजको दोस्रो खेलमा मंगलबार घरेलु टोली ओमानसँग खेल्नेछ । ओमान १६ अंकसहित शीर्ष स्थानमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय