Khabar Samachar

कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी यूनियनद्वारा महानगरको शिक्षा विभागमा तालाबन्दी

212
VIEWS

नेपाली कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी यूनियन (क्रान्तिकारी) ले काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा तालाबन्दी गरेको छ।

हिजो (बुधबार) मात्रै महानगरले विद्यालयमा राजनीतिक दल तथा भ्रातृ संगठनका कार्यक्रम नगर्न विभिन्न भ्रातृ संगठन तथा राजनीतिक दललाई निर्देशन दिएको थियो। त्यसैको विरोधमा संगठनले कार्यक्रम गर्न पाउनुपर्छ भन्दै विभागको संस्थागत विद्यालय शाखामा तालबन्दी गरेको महानगरका शिक्षा शाखाका प्रमुख सीताराम कोइरालाले जानकारी दिए।

उनका अनुसार यूनियनका पदाधिकारी आएर तालाबन्दी गरी गएका हुन्।

‘उहाँहरूले राजनीतिक दललाई कार्यक्रम गर्न नदिए पनि भ्रातृ संगठनलाई भने कार्यक्रम गर्न दिनुपर्ने बताएका छन्,’ कोइरालाले भने, ‘आफ्नो माग पूरा नभएसम्म तालाबन्दी नखोल्ने बताउनुभएको छ।’

संस्थागत विद्यालय शाखामा विद्यालयलगायतका शिक्षा क्षेत्रको विभिन्न काम हुने गरेको उनले बताए। यस्तै तालाबन्दी हुँदा नियमित हुने काम कारबाही समेत प्रभावित भएको उनको भनाइ छ।

संगठनले पटक-पटक महानगरपालिकालाई मौखिक र लिखित रूपमा शैक्षिक विकृति र शैक्षिक रूपान्तरणका विषयसहित माग पत्र पेस गर्दा पनि कुनै जवाफ नदिएको यूनियनका संयोजक मिमबहादुर एडिले बताए।

‘२०७९ पुस १९ र २०८० वैशाख १३ गते काठमाडौं महानगरपालिकाको शिक्षा शाखाले निकालेको निर्देशन पत्र प्रति हाम्रो संगठनको गम्भीर आपत्ति छ। शैक्षिक माफियाको निर्देशनमा नेपालका विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनविरूद्ध बालेन सरकार जसरी आएको छ, त्यसको हाम्रो संगठन प्रतिवाद गर्न चाहन्छ,’ एडिले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनका अनुसार संगठनका मागप्रति गम्भीर नभए र शाखामा लगाएको ताला तोडिए संगठन थप संघर्ष गर्न बाध्य हुने छ।

यस्तै कोइरालाका अनुसार भोलि शुक्रबार महानगरका मेयर र प्रशाशकीय अधिकृतसँग छलफल गरी यूनियनसँग बैठक बसिने छ।

‘आज ताला लगाएर जानुभएको छ,’ उनले भने, ‘भोलि महानगरमा छलफल गरी उहाँहरूको कुरा सुनेर के हुन्छ, समाधान निकाल्ने छौं।’   महानगरले भ्रातृ संगठनको कार्यक्रम गर्न दिने विद्यालयका प्रधानाध्यापकलाई विभागीय कारबाही गर्ने तयारी बताएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित