नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क अथवा महशुलदर नबढाएको स्पष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यममा इन्टरनेट सेवा प्रदायकहरुले आपसी मिलोमतोमा शुल्क बढाएको भन्ने कुरा आएको भन्दै प्राधिकरणले शुल्क नबढेको स्पष्ट पारेको हो ।
“इन्टरनेट सेवा प्रदायकहरुले आपसी मिलोमतोमा इन्टरनेट सेवाको शुल्क बढाउने गरी भद्र सहमति भइसकेको भनि समाचार प्रकाशित भएका साथै केही इन्टरनेट सेवा प्रदायकहरुले प्राधिकरणको निर्देशन भन्दै इन्टर्नेट सेवाको महशुलदर बढाएको भनि उपभोक्ताहरुले विभिन्न माध्यमबाट गुनासो समेत ब्यक्त गरेको प्रति नेपाल दूरसञ्चार प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ,” सोमबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले भनेको छ ।सेवा प्रदायकहरुले मिलेमतोमा आफूखुशी इन्टनरेट सेवाको शुल्क बढाउनु दूरसञ्चार ऐन, २०५३ तथा प्रतिस्पर्धा प्रबर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ विपरीत हुने भन्दै त्यसो गरेको खण्डमा सो बमोजिम कारबाही हुने प्राधिकरणको भनाइ छ ।
Discussion about this post