नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टीकापुर हत्याकाण्डका प्रमुख दोषी रेशम चौधरीलाई आममाफी दिएर सरकारले राजाको जस्तो हुकुमी शासन चलाएको बताएका छन्।
नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सोमबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
‘नेपालको कानुनले कुनै पनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतले गरेको अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ कि हुँदैन भनेर कानुनले बन्दोबस्त गरेको छ । त्यो कानुनको बन्दोबस्तभन्दा बाहिर कोही पनि जान पाइँदैन,’ उनले भने, ‘आज सरकारलाई मन लाग्यो, सरकारले निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो, यो राजाको शासन होइन, यहाँ हुकुम चल्दैन । यो गणतन्त्र हो । गणतन्त्रमा केवल कानुन मात्रै चल्छ । कानुनको शासन मात्रै हुन्छ ।’
उनले सरकार चलाउन गाह्रो भयो भन्दैमा कानुन कसैले पनि मिच्न नहुने धारणा राखे । उनले भने, ‘सरकारलाई मन लाग्यो, सरकारले निर्णय गर्यो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो भन्ने हिसाबले मात्रै यसलाई लिन हुँदैन ।’ उनले यो राजाको शासन नभएकाले कसैको हुकुम नचल्ने जनाए । सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर प्रचलित कानुन मिच्न नहुने उनको सुझाव छ । ‘आज हामीलाई सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर हामीले प्रचलित कानुनलाई पनि मिचेर, थिचेर बलमिच्याँइ गरेर, दादागिरी देखाएर हामी कुनै निर्णय गर्छौं,’ थापाले भने । उनले राष्ट्रहितविपरीत गरिने निर्णयले भविष्यमा आफैंलाई पछुतो हुने दाबी गरे ।
महामन्त्री थापाले रेशम चौधरीबारे अदालतको पूर्ण पाठ नआइसकेको अवस्थामा अदालतलाई हेप्नुले जे गरे पनि हुन्छ भन्ने मानसिकता विकसित हुँदै गएको प्रमाणित भएको धारणा राखे । उनले विधिको शासन वकालत गर्ने बेलामा सरकार परिवर्तन भएर केही फरक नपर्ने जनाए । ‘अदालतको पूर्ण पाठ आएको छैन । हामी हतार-हतार निर्णय गर्छौं भने त्यसको अर्थ के हो ? हामीले अदालतलाई हेप्यौं । हामीले बलमिच्याइँ गर्यौं । हामीले जे गरेपनि हुन्छ भन्ने सोच्यौं । हामीलाई अफ्ठ्यारो परेका बेलामा यस्ता कुरा चल्छन् भन्ने सोच्यौं,’ महामन्त्री थापाले भने, ‘तर नागरिकको ठाउँबाट हेर्दै गर्दा के देखिन्छ ? विधिको शासनको वकालत गर्दै गर्दा सरकार गए जान्छ, यस्ता सरकार गए जान्छन्, गएर केही पनि हुँदैन । अर्को सरकार बन्छ । केही फरक पर्दैन ।’
Discussion about this post