Khabar Samachar

युगअनुसारको संस्कृतिको निर्माण आवश्यक : प्रधानमन्त्री

201
VIEWS

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय समानुपातिक गणतान्त्रिक युगअनुसारको संस्कृतिको निर्माण आजको आवश्यकता भएको बताएका छन् । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित कविता महोत्सवमा उनले यस्तो बताएका हुन् ।

उनले ज्ञान तथा साहित्य–कलालाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्न सके मात्र अपेक्षित सफलता हासिल गर्न सकिने बताए । उनले अबको अनुसन्धान तथा सिर्जना परम्परा धान्नमा सीमित हुन नहुनेमा जोड दिए ।

सामाजिक संरचना, राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोहीअनुसारको सांस्कृतिक रूपान्तरण अभियान अघि आउन जरुरी रहेको उनले बताए ।

“नेपालका कतिपय उन्नत सांस्कृतिक परम्परा यहाँको माटोमा सिर्जित र विकसित ज्ञान तथा साहित्य कलालाई साहित्य चिन्तनलाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्न सके मात्रै हामीले अपेक्षित सफलता हासिल गर्न सक्नेछौँ । अबको सिर्जना, अबको अनुसन्धान केवल परम्परा धान्नेमा मात्रै सीमित हुनु हुँदैन । यथास्थितिवादी सौन्दर्य चेतनाले मात्रै अब पुग्ने स्थिति पनि छैन,” उनले भने, “आज नेपाली समाजको सामाजिक संरचना र राजनीतिक व्यवस्थामा परिवर्तन आएको छ । सामाजिक संरचना, राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोहीअनुसारको सांस्कृतिक रूपान्तरण अभियान अघि आउन जरुरी छ । परिणामतः नेपाली समाजका सूक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामीजस्तै बनेर आइरहेको भूमण्डलीकृत उत्तर आधुनिक संस्कृतिको प्रतिरोध गर्दै आजको संघीय समानुपातिक गणतान्त्रिक युगअनुसारको संस्कृतिको निर्माण आजको आवश्यकता हो ।”

प्रधानमन्त्री प्रचण्डले आजको युगीन सभ्यतालाई संस्थागत गर्न सरकारले नयाँ प्रज्ञा–परिषद् तथा प्राज्ञसभाको गठन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित