Khabar Samachar

‘एउटा पानीघट्ट बाँकी छ त्यो पनि कहिलेसम्म चल्ने ठेगान छैन’

201
VIEWS

कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङकी देउकुमारी तामाङलाई पानीघट्टमा पिसेको पिठोको ढिँडो औधी मन पर्छ। उनी सँधै कोदोमकै पिस्न घट्ट नै पुग्छिन्।

आजकल पानीघट्टमा पिस्ने चलन हराउँदै गएपछि भने उनलाई पीर पर्न थालेको छ। खोलामा पानी नपुग्ने, भएको घट्टको संरक्षण नहुँदा एउटा दुईटा पानीघट्ट पनि लोप होला भन्ने चिन्ता छ।

उनीमात्रै होइन सिदिङ गाउँका अधिकांश मानिसहरू कोदो पिसाउन घट्टमै धाउँछन्। उनीहरूलाई पनि त्यही चिन्ता छ।

देउकुमारीले थाहा पाएअनुसार पहिले गाउँमा तीनवटा घट्ट थिए। अहिले एउटा मात्रै बाँकी छ।

‘पहिले गाउँले सबैले घट्ट प्रयोग गर्थे । अहिले मिल आएको छ । त्यसले गर्दा यसको महत्व घट्दै गएको छ,’ देउकुमारी भन्छिन्, ‘हाम्रै गाउँमा पनि तीन घट्ट थियो । अहिले एउटा भत्किसक्यो । अर्को चल्दैन । अब एउटा बाँकी छ । यो पनि कहिलेबाट नचल्ने हुन्छ, थाहा छैन।’

त्यो घट्ट सिदिङकी सरस्वती अधिकारीको परिवारले चलाउँछ। उनको परिवारको प्रमुख आयस्रोत नै पानीघट्ट हो।

‘गाउँमा जग्गाजमिन धेरै हुनेले खेती गर्छन्, हामीले घट्ट चलाउँछौँ,’ अधिकारी भन्छिन्, ‘प्रतिपाथी पिसेको अन्नको ज्यालाबापत तीन पाथीको दुई माना अन्न राख्छौँ, यसैबाट हाम्रो परिवार धानेका छौँ।’

परम्परागतरुपमा अन्न पिसानीका लागि घट्ट, जाँतो, ओखल तथा ढिकी प्रयोग हुन्थ्यो। पुर्खाले प्रयोग गरेको पानीघट्टले पिसेको पिठो स्वादिलो हुने र पौष्टिक तत्व खेर नजाने भएकाले आफूहरुले पनि यसलाई निरन्तरता दिएको सरस्वती बताउँछिन्।

प्रविधिको विकाससँगै बिजुलीबाट चल्ने मिलमा पिस्न छिटो हुने भएकाले पानीघट्टमा आजकल कम मान्छे आउन थालेका छन्।

विकास र प्रविधिको पहुँचसँगै संरक्षणमा चासो नदिँदा कास्कीका ग्रामीण भेगबाट रैथाने सीप र प्रविधिको प्रयोग गरी निर्माण गरिएका पानीघट्ट लोप हुने अवस्थामा पुगेका छन ।

कतिपय ग्रामिण भेगमा घट्ट लोप भइसकेको बताउँदै घट्ट सञ्चालिका अधिकारीले यसको संरक्षणका लागि सरकारी पक्षबाट योजना बनाउनुपर्ने बताइन्।

पछिल्लो समय आफूले आयस्रोतका लागि भन्दा पनि रैथानै सीप र प्रविधि जगेर्ना गर्ने उद्देश्यले घट्ट चलाइरहेको उनले बताइन्। यो सञ्चालनका क्रममा धेरै समस्या भोग्नुपरेकाले यसको संरक्षण गरी निरन्तरताका लागि सरकारले सहयोग गरिदिए आभारी हुने उनको भनाइ थियो ।

‘हाम्रो गाउँमा भएका तीन घट्टमध्ये अहिले हामीले मात्र चलाएका छौँ । यसमा पनि कहिले पानी पुग्दैन । काठको मदानी छ बेलाबेलामा भाँचिन्छ,’ अधिकारीले भने, ‘पानीका लागि पाइप अनि फलामको मदानी पाइन्छ कि भनेर वडामा भनेका छौँ । फलामको मदानी किन्न अनुदान पाइन्छ कि भन्ने आशा छ तर अहिलेसम्म पाएका छैनौँ।’

अघिल्लो जनप्रतिनिधिका समयमा अनुदानका लागि वडामा गएको भन्दै पनि नयाँ जनप्रतिनिधि आएपछि नगएको उनले सुनाए।

पानीघट्ट भावी पुस्ताको जानकारीका लागि पनि संरक्षण गर्नु आवश्यक रहेको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर अधिकारीले बताए। उनले घट्ट सञ्चालकलाई आवश्यक अनुदानको व्यवस्था गरेर रैथाने सीपको संरक्षण गर्नुपर्नेमा जोड दिए।

वडाभित्र रहेका घट्ट सञ्चालनका लागि पानीको स्रोत सुनिश्चितता गर्ने योजना रहेको उनले जानकारी दिए।

वडाले फलामको मदानी दिने योजना बनाइरहेको भन्दै पानीको स्रोत, फलामको मदानीलगायत आवश्यक सामग्रीका लागि सहयोग गरिने वडाध्यक्ष अधिकारीले बताए।

‘हाम्रो वडामा भएका तीन वटै घट्ट सञ्चालनमा ल्याउनका लागि पानीको सुनिश्चितता गर्ने योजना बनाएका छौँ,’ उनले भने, ‘हिउँदमा पनि चलाउन सकुन् भनेर पानीका लागि पाइपको व्यवस्था गर्ने तयारी भइरहेको छ।’रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित