गृहमन्त्री रमेश लेखकले कानुनबमोजिम रवि लामिछानेमाथि अनुसन्धान भइरहेको बताएका छन्।
आइतबार प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अनुसन्धान गर्न अदालतबाट म्याद लिइएको र अदालतले पनि कानुनबमोजिम नै म्याद दिएको बताए। अदालतले नै दिएको म्यादभित्र अनुसन्धान भएको छ भने अनुसन्धान कसरी गैरकानुनी भयो भन्ने प्रश्न पनि उनले गरेका छन्।
‘उहाँकामाथि जुन छानबिन भइरहेको छ त्यो कुनै स्वेच्छाचारी ढंगले, गैरकानुनी ढंगले भइराखेको त छैन, अनुसन्धान कानुन बमोजिम भइरहेको छ,’ चितवनमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘अदालतबाट लिएको म्यादभित्रै अनुसन्धान गरिएको छ भने कसरी प्रतिशोधपूर्ण र गैरकानुनी भयो?’
सरकारको स्थायित्व नै कमजोर भएको अवस्थामा स्थिर सरकार गठन, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक गतिविधिलाई अघि बढाउने, मुलुकको अर्थतन्त्र लयमा ल्याउन, विकास निर्माणलाई गति दिन नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनेको मन्त्री लेखकले बताए ।
यो सरकार परिवर्तन हुने कुनै सम्भावना नभएको दाबी गर्दै उनले भने, “कांग्रेस र एमालेबीचमा सहमति भएको छ, ०८४ सालसम्म त्यही सहमतिअनुसार हामी अघि बढ्छौँ ।” दुई दलबीचमा कुनै समस्या नरहेको उनको भनाइ छ । सरकार परिवर्तन हुने भन्ने हल्ला, हल्ला मात्रै भएको उनले स्पष्ट पारे ।
राष्ट्रिय आवश्यकता र महत्त्वका मुद्दा सम्बोधन गर्न संसद्का ठूला दल मिलेको उनले बताए । फरक प्रसंगमा बोल्दै उनले अहिलेको सरकार सबै जनताको मानव अधिकार रक्षाका लागि सचेत रहेको बताए । मन्त्री लेखकले भने, “प्रत्येक नागरिकको मानव अधिकारको रक्षाप्रति सरकार सचेत छ । चाहे थुनामा रहेको होस्, चाहे हिरासतमा रहेको होस् । सबै नागरिकप्रति मानव अधिकारका विषयमा हामी सचेत छौँ ।” रासस
Discussion about this post