काठमाडौंका १० प्रतिनिधि सभा क्षेत्रमध्ये नेपाली कांग्रेसले सात वटा क्षेत्रमा उम्मेदवारी दिने लगभग टुंगो भएको छ।
सत्ता गठबन्धनका दलहरूबीच काठमाडौंका क्षेत्र नम्बर १, ३, ४, ५, ६, ९ र १० मा कांग्रेसले उम्मेदवारी दिने गरी सहमति भएको छ।
२०७४ को चुनावमा कांग्रेसले काठमाडौंका क्षेत्र नम्बर १, ४, ६, १० क्षेत्र जितेको थियो। यी क्षेत्र यसपालि पनि कांग्रेस आफैंले राखेर सत्ता गठबन्धनसँग तालमेल गर्दै थप ३ क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको हो।
कांग्रेसका एक नेताले आफूहरूले ८ वटा क्षेत्रमा दाबी गरेको भए पनि अहिलेसम्म ७ क्षेत्र कांग्रेसलाई दिन अरू दल तयार भएको र थप एक क्षेत्र लिन प्रयास गरिरहेको बताए।
‘क्षेत्र नम्बर ७ मा पनि हामीले दाबी छाडेको छैनौं,’ उनले भने, ‘प्रदेशको सिट बाँडफाँटसँगै यो क्षेत्र पनि कांग्रेसलाई दिने गरी कुरा मिल्न सक्छ।’
काठमाडौं कांग्रेसका नेताहरूले सभापति शेरबहादुर देउवालाई काठमाडौंमा अरू सत्तारूढ दलको मत कम भएकाले कम्तीमा ८ क्षेत्रमा कांग्रेसले उम्मेदवार बनाउनु पर्ने माग गरेका थिए।
काठमाडौंका बाँकी ३ क्षेत्रमध्ये क्षेत्र नम्बर २ नेकपा (माओवादी केन्द्र)ले दाबी गरेको छ। यहाँ पूर्वसभामुख ओनसरी घर्ती उम्मेदवार हुने माओवादीभित्र चर्चा छ।
यस्तै क्षेत्र नम्बर ७ मा कांग्रेस, जसपा र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले दाबी गरेका छन्। भट्टराई गठबन्धनका बैठकमा उपस्थित हुने गरेका छैनन्। भट्टराईको पार्टीले माओवादीकै चुनाव चिन्ह लिने सहमति छ।
काठमाडौं -७ मा भट्टराईकी छोरीसमेत रहेकी समाजवादीकी नेता मानुषी यमी भट्टराईले उम्मेदवारी दिने तयारी गरिरहेकी छन्।
यो क्षेत्रमा कांग्रेस र जसपाले दाबी छाडेका छैनन्। जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका राजेन्द्र श्रेष्ठ काठमाडौं-७ मा उठ्ने तयारीमा छन्।
काठमाडौं क्षेत्र नम्बर ८ भने नेकपा (एकीकृत समाजवादी)ले लिने भएको छ। यो क्षेत्रबाट २०७४ मा जीवनराम श्रेष्ठ निर्वाचित भएका थिए। श्रेष्ठ त्यसबेला नेकपा (एमाले) बाट निर्वाचित भएका थिए। पर्यटन मन्त्रीसमेत रहेका उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा छन्।
Discussion about this post