Khabar Samachar

‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने

208
VIEWS
नेपालकै पहिलो कवितामा आधारित रियालिटी सो ‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने भएको छ । प्रख्यात कवि क्षेत्रप्रताप अधिकारीका सुपुत्र अमनप्रताप अधिकारीद्वारा निर्माण निर्देशन गरिएको सोको प्रसारण पुस १४ अर्थात् बिहीबार साँझ ८ः३० बाट हुने भएको हो । सो हरेक साता बिहीबार र शुक्रबार एपी वान टेलिभिजनबाट राति साढे ८ मा प्रसारण हुनेछ । त्यसका साथसाथै OSR Reality युट्युब च्यानलमा पनि प्रसारण हुने छ ।
असोज अन्तिमसम्म भएको अडिसनका लागि नेपालबाट १ सय ६२ जना छानिएका थिए भने विदेशबाट अनलाइन अडिसन दिनेको सङ्ख्या ५० भन्दा बढी रहेको थियो । डिजिटल अडिसनबाट छानिएका सहभागीहरूमध्येबाट विभिन्न चरणहरू पार गर्दै १४ जना कविहरू छानिने छन् । सोमा सहभागी कविहरूले कविता लेखन र वाचन गर्नेछन्, र कविता लेख्नका लागि छुट्टाछुट्टै विषय पनि दिइनेछ ।
कार्यक्रममा सहभागीबीच प्रतिस्पर्धा हुनेछ, प्रस्तुति जाँच्ने निर्णयकका साथै दर्शकहरूले पनि आफूलाई मन परेका प्रतिस्पर्धी कवि, कवयित्रीलाई भोट हाल्न पाउने छन् । अन्तिम १४ बाट हरेक हप्ता एक जना प्रतिस्पर्धी बाहिरिने र अन्तिममा एक जना ‘द पोइट आइडल’ बन्नेछ ।
प्रतियोगिताको निर्णायकमा कविद्वय विप्लव प्रतीक र उपेन्द्र सुब्बाका साथमा निर्देशक तथा रंगकर्मी अनुप बराल र अभिनेत्री सुरक्षा पन्त रहनेछन् । कार्यक्रम अभिनेता दिव्यदेव पन्तले सञ्चालन गर्नेछन् ।
‘द पोइट आइडल’को विजेता कविले दस लाख रूपियाँ नगद पाउने छन् । साथै, यात्रा पब्लिसिङ्ग हाउसका तर्फबाट विजेता कविको ५ लाख बराबरको कवितासङ्ग्रह प्रकाशन गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित