इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपरकिङ्सले जितेको छ । कोलकत्ता नाइट राइडर्सलाई हराउँदै महेन्द्रसिंह धोनी नेतृत्वको टिम चौथोपटक आईपीएलको च्याम्पियन बनेको हो । गएराति दुबईमा भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चेन्नाईले उपाधि उचालेको हो ।

पहिलो ब्याटिङ गर्दै चेन्नईले नेफाफ डु प्लेसिसको ८६ रनको योगदानमा १९२ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा कोलकत्ताले १६५ रन मात्रै जोड्न सक्यो । सिंह धोनीको टोलीले चौथोपटक आईपीएलको उपाधि जितेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नईले उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटका लागि गायकवाड ३२ रन बनाएर आउट भए पनि प्लेयर अफ द म्यान चुनिएका डुप्लेसिसले विस्फोटक पारी खेल्दै ५९ बलमा ८६ रनको योगदान दिए । त्यस्तै, रोबिन उथप्पाले ३१ र मोइन अलीले नटआउट रहँदै ३७ रन बनाएपछि चेन्नईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १९२ रन बनायो ।

१९३ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रेको कोलकत्ताले उत्कृष्ट सुरुआत गरेको थियो । ओपनरहरू सुभमन गिल र वैंकटेस ऐयरले पहिलो विकेटका लागि १०.४ ओभरमा ९१ रनको साझेदारी गर्दै टिमलाई बलियो अवस्थामा पुर्‍याएका थिए । उनीहरू दुवैले अर्धशतक बनाए । तर ओपनिङ साझेदारी टुटेसँगै कोलकत्ताको ब्याटिङ धराशायी बन्यो । बिनाविकेट क्षति ९१ रनको अवस्थाबाट केहीबेरमै कोलकत्ता १२५/८ को अवस्थामा खस्किएको थियो ।

कोलकत्ताका मध्यक्रमका ब्याट्सम्यानहरू क्रिजमा टिक्न नसकेपछि चेन्नईको जित सुनिश्चित भएको हो । कोलकत्तालाई धराशयी बनाउन चेन्नईका शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए । यस्तै, जोस ह्याजलउड र रविन्द्र जडेजाले दुई-दुई विकेट बाँडे ।

फाइनलमा चेन्नईका दक्षिण अफ्रिकी ओपनर फाफ डु प्लेसीस प्लेयर अफ द म्याच बनेका छन् । प्रतियोगितामा ३२ विकेट लिएका रोयल च्यालेन्जर्स बैंगलोरका हर्षल पटेल प्लेयर अफ दि सिरिज बनेका छन् ।

यसअघि सन् २०१०, २०११ र २०१८ मा चेन्नईले उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय