काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सै घण्टा खुल्ने भएको छ।
नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सै घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको ठमेल पर्यटन विकास परिषदले जनाएको छ।
परिषदका अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउन आवश्यक सम्पूर्ण तयारी भएको जानकारी दिए।
‘नयाँ वर्षको उपलक्ष्यमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्गको बजार क्षेत्र २४ सै घण्टा सञ्चालन हुने घोषणा गर्नुहुनेछ,’ उनले भने।
उनका अनुसार सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लिनेछ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले ठमेल र दरबारमार्गको रात्रिकालीन व्यवसाय वैशाख १ गतेदेखि लागू हुने गरी सुरक्षा तयारी गरिएको बताए। पूर्णकालीन व्यवसाय सञ्चालनका लागि आचारसंहिता एवं सुरक्षा व्यवस्थापन मापदण्ड बनाइएको उनले जानकारी दिए।
Discussion about this post