प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालोझण्डा देखाउने सहकारी पीडितले ब्लण्डर गल्ती गरेको बताएका छन् । उनलाई पार्टी कार्यकर्तालाई सम्बोधन गर्न पोखरा सभागृह आउँदा सूर्यदर्शन सहकारी पीडितले कालो झन्डा र प्रदर्शन गरेका थिए ।
पोखरा सभागृहमा कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले ५ लाख भन्दा कम बचत भएका सहकारी पीडितलाई फिर्ता दिन सरकारले बजेटमै ल्याएको बताए।
‘५ लाख भन्दा कम बचत भएकालाई पैसा दिने भनेर सरकारले बजेटमै योजना ल्याएकवो छ। त्यहाँ बाहिर कालोझण्डा देखाउनुभयो। कालो झण्डा देखाउनुहुने साथीले ब्लण्डर गर्नुभयो। यस्तो बुद्धितिर नलाग्नुहोला, तपाइहरुको पक्षको सरकारलाई,’ उनले भने।
पोखराका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले बुधबार प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा देखाएका थिए। सहकारी पीडित २ वर्षदेखि आन्दोलनमा रहँदा पनि सरकारले कुनै चासो नदिएको भन्दै उनीहरुले कालो झण्डा देखाएका हुन्।
सहकारी बचत पीडित संघर्ष समिति कास्कीका संयोजक किरण श्रेष्ठले सरकारले सधै आश्वासन मात्र दिने तर काम नगर्ने भएकाले विरोध जनाउनुपरेको बताए।
Discussion about this post