प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई भगाउन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘स्टन्टबाजी’ गरेको आरोप लगाएको छ।
आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले लोकेसन पत्ता लगाइसक्यो भनेर जीबीलाई भगाउन माइकबाट फुकेको हो? भन्दै प्रश्न गरे।
‘लोकेसन पत्ता लगाइसक्यो भनेको जीबी राईलाई के भगाउनका लागि हो माइकबाट फुकेर लोकेसन पत्ता लाग्यो रे भनेर स्टन्टबाजी गर्ने? कि सरकार चाँडै जीबी राईलाई हाजिर गराउँदैछ?,’ उनले भने।
लामिछानेले केही दिनअघि राईको लोकेसन पत्ता लागिसकेकाले केही दिनभित्रै पक्राउ पर्ने बताएका थिए। आफ्नै पूर्वसहकर्मीलाई पक्राउ नगर्न गृहमन्त्री लागेको शर्माको दाबी छ।
उनले संसदमा भने, ‘गोरखा मिडिया नेटवर्कको एक जना मालिक गृहमन्त्री हुनुहुन्छ, अर्का मालिक पक्राउ गर्नुपर्नेमा पर्नुभएको छ। गृहमन्त्रीजीले लोकेसन पत्ता लागिसक्यो भन्नु भएको हो? जिबीलाई भगाउन हो पत्ता लागिसक्यो भनेर माइकबाट फुकेको?’
शर्माले देशलाई जिबी बसेको लोकेसन नभइ जिबी चाहिएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
‘देशलाई जिबीको लोकेसन चाहिएको होइन, जिवी चाहिएको हो। लोकेसन पत्ता लागेको चार दिन पुग्दा पनि पक्राउ किन गरिएन?,’ शर्माले संसदमा प्रश्न अगाडि गरे, ‘विपक्षमा हुँदा चाह्यो भने सरकारले किन समाउन सक्दैन भन्नुभएको थियो। सरकारले चाह्यो भने लिखित सम्झौता नै चाहिँदैन, अनौपचारिक सम्बन्ध राखेर ल्याउन सकिन्छ। मलेसियासँग औपचारिक श्रम सम्झौता नभए पनि चार लाख नेपालीले काम गरिरहेका छन्।’
साथै, उनले सुर्यदर्शन सहकारीका पीडितहरू सर्वोच्च अदालतको बहस सुन्न आउँदा प्रहरीले रोकिदिएकोप्रति आपत्ति जनाए।
‘सुर्यदर्शन सहकारीका पीडितहरू सम्मानित सर्वोच्च अदालतको बहस सुन्न पोखराबाट काठमाडौँ आएका थिए। अदालतले ५ जनालाई पास पनि दियो। तर प्रहरीले गेटमा रोकिदियो। प्रचलन के छ भने, आफ्नो मुद्दासँग सम्बन्धित पीडितले अदालतमा बहस सुन्न चाहँदा अदालतले पास दियो भने सुन्न पाउनुपर्छ,’ उनले भने।
Discussion about this post