अमेरिकाको भर्जिनिया राज्यमा नेपाली नर्स बेपत्ता प्रकरणमा प्रहरीले उनका श्रीमान् नरेश भट्टलाई नियन्त्रणमा लिएको छ ।
बिहीबार अपराह्न घरबाट प्रहरीले उनलाई हत्कडीसहित गाडीमा हालेर लगेको दृश्य स्थानीय सञ्चारमाध्यमहरुले प्रसारण गरेका छन् । भर्जिनियाको स्थानीय अनलाइन पोर्टल इन्साइड नोभा डटकमले लेखेअनुसार प्रहरीले २८ वर्षीया नर्स ममता काफ्लेको हत्या भएको आशंका गरेको छ र शव लुकाएको आशंकामा उनका श्रीमान् नरेशलाई पक्राउ गरेको हो ।
बिहीबार भर्जिनिया प्रहरीले मनासस पार्कस्थित नरेशको घरबाटै उनलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यम सेभेन न्युजले जनाएको छ।
सेभेन न्युजले नरेशलाई प्रहरीले पक्राउ गर्दै गरेको तस्बिर पनि सार्वजनिक गरेको छ।
ममताको मृत्यु भइसकेको आकलन गरिएको र शव ममताकै श्रीमान नरेशले लुकाएको हुनसक्ने सुराकहरू भेटिएपछि उनलाई पक्राउ गरिएको मनासस पार्कका प्रहरी प्रमुख मारिओ ल्युगोले सेभेन न्युजसँग बताएका छन्।
उनी शंकास्पद देखिएपछि पक्राउ गरिएको र थप अनुसन्धानबाट ममता बेपत्ता भएको घटनाबारे थप कुरा पत्ता लाग्ने ल्युगोले बताएका छन्।
बेपत्ता भएकी ममतालाई खोज्न त्यहाँको प्रहरीले १० वटा भन्दा बढी खोजी अपरेसन चलाएको थियो।
बुधबार मनासस पार्कस्थित उनीहरूको घरमा प्रहरीले छापा मारेको थियो। त्यतिबेला नरेशले सहयोग नगरेको प्रहरी प्रमुख ल्युगोलाई उद्धृत गर्दै सेभेन न्युजले लेखेको छ।
























Discussion about this post