नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार ‘आफ्ना’ लाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको टिप्पणी गरेका छन् ।
आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा कसैको दल र अनुहार नहेरेर कारवाही गरेको तर अहिलेको सरकार प्रतिद्वन्द्वीलाई मात्रै प्रहार गर्ने गरी अघि बढेको उनले बताए ।
पार्टीले कात्तिक १० गते काठमाडौँमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारीका लागि आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीका बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकार सुशासनको मामिलामा कमजोर देखिएको टिप्पणी गरेका हुन्।
हिजो मात्रै विपक्षी दलहरूका तर्फबाट बालुवाटारमा ज्ञापनपत्र बुझाउन गएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको संवाद सुनाउँदै प्रचण्डले भने, ‘मैले स्पष्टसँग भनेको थिएँ- तपाईं र हामीमा फरक के भयो भने हामी के माओवादी, के कांग्रेस, के एमाले कुनै दल नहेरेर गल्ती गरेको छ भने सबैलाई कानुनबमोजिम ल्याउनुपर्छ भनेर लाग्यौँ तर तपाईंहरूले कांग्रेस र एमालेका नेताले गल्ती गरेको छ्याङै देख्दा पनि बचाउनुभएको छ र आफ्नो राजनीतिक प्रतिद्वन्द्वी देख्नुभयो भने खोजीखोजी हान्नुभएको छ।’
सरकारले गर्नुपर्ने काम नगरेको तर गर्न नहुने काममा बढी ध्यान दिएको आरोप प्रचण्डले लगाए । सरकारको ‘हनिमुड पिरियड’ लाई ध्यान दिंदै अहिलेसम्म माओवादी सडकमा नआएको भए पनि अब सरकारको सय दिन पुगेकाले सडक प्रदर्शनका कार्यक्रम अघि सार्ने उनले जानकारी दिए ।
भ्रष्टाचारीलाई बचाउन नयाँ समीकरण बनेको जनताले राम्ररी बुझेको उल्लेख गर्दै प्रचण्डले अब सरकारका गलत कार्यको भण्डाफोर गर्दै लैजानुपर्नेमा जोड दिए ।
‘उद्योगहरुबाट बक्यौता महसुल उठाउन खोज्दा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र एउटा सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्ने, बाढीपहिरोपछि उद्धार, राहत र पुनस्र्थापनामा ध्यान नदिनेदेखि जग्गादान प्रकरणसम्म आउँदा सरकारले आफैंलाई भ्रष्टाचारीको संरक्षकको रुपमा प्रस्तुत गरेको छ,’ प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित राजनीतिक उपलब्धिमाथि प्रहार हुन थालेकाले अब सडकबाट जनतालाई अपिल गर्न ढिलाइ गर्न नहुने ठानेर नै पार्टीले जनप्रदर्शनको कार्यक्रम तय गरेको बताए ।
‘सरकार गठन गर्नेबेला नै दुई दलीय व्यवस्थाको वकालत गरिएको थियो, त्यो निरंकुश सोच हो । अहिले पनि कतै न कतै गठवन्धनभित्र यस खालको सोच हटेको छैन,’ उनले भने, ‘यसलाई अघि बढाउन दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने षड्यन्त्र जारी नै छ, यी सबै षड्यन्त्रका विरुद्ध सशक्त खबरदारी जरुरी छ ।’
Discussion about this post