Khabar Samachar

रास्वपा उपसभापति अर्यालले भेटे गृहमन्त्री

206
VIEWS

सभापति रवि लामिछाने डेढ सातादेखि प्रहरी हिरासतमा रहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन्।

सोमबार साँझ हाल रास्वपाको नेतृत्व अनौपचारिक रुपमा सम्हालिरहेका अर्यालले गृहमन्त्री लेखकलाई भेटेका हुन् । यो भेटको पुष्टि स्वयम् अर्यालले  गरेका छन् ।

भेटबारे जानकारी दिँदै अर्यालले भने , ‘भेटमा मंगलबारको बालुवाटारकेन्द्रित आन्दोलनबारे छलफल भएको छ । हामीले बालुवाटार र माइतीघरकेन्द्रित आन्दोलन गरिरहेका छौँ । यहीबारे मैले गृहमन्त्रीलाई जानकारी गराएको हुँ।’

भेटमा पार्टी सभापति लामिछानेको विषयमा कुरा गर्नुभएन भन्ने प्रश्नमा उनले भने, ‘त्यतातिर अहिले कुरा नगरौँ, बालुवाटारकेन्द्रित आन्दोलनबारे हामीले कुरा गरेका छौँ। मैले शान्तिपूर्ण आन्दोलनलाई सरकारी हस्तक्षेप नहोस् भनेको छु ।’

अर्यालले खुलाउन नचाहे पनि राजनीतिक प्रतिशोधका आधारमा रास्वपा सभापति लामिछानेलाई पक्राउ गरिएको गुनासो उनले गृहमन्त्रीसँग राखेका छन् । प्रतिशोध लिएर लामिछानेलाई पक्राउ गरिएको जस्तो गतिविधि नदोहोर्‍याउन अर्यालले गृहमन्त्रीलाई आग्रह गरेको स्रोतले उल्लेख गरेको छ ।

भेटमा अर्यालले गृहमन्त्री लेखकसँग लामिछानेलाई लामो समय हिरासतमा नराख्न र राजनीतिक प्रतिशोधका आधारमा दुःख नदिन आग्रह गरेका स्रोतले उल्लेख गरेको छ ।

जवाफमा गृहमन्त्री लेखकले कानुनअनुसार कारबाही हुने भन्दै अदालती प्रक्रियामा गइसकेको कुरालाई राजनीति प्रतिशोध भन्न नमिल्ने बताएका थिए।

लेखकले शान्तिपूर्ण आन्दोलनका नाममा भिडभाड गरेर अनुसन्धानलाई प्रभावित नपार्न आग्रहसहित बरु सहयोग गर्न अर्याललाई आग्रह गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित