विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । बिहीवार प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेश सरकारले गलत विधि र प्रक्रियामार्फत ल्याएको जिकिर गर्दै त्यसलाई अस्वीकार गर्ने निर्णय भएको बताए ।
उनले सरकारले ल्याएका अध्यादेशका विरुद्धमा एक भएर जाने निर्णय भएको जानकारी दिए।
‘सरकारले सदन बोलाउने बेलामा नै जसरी अध्यादेश ल्याएको छ, यो प्रक्रियाका हिसाबले पनि गलत छ,’ उनले भने, ‘संसदको अर्थ समितिमै छलफल भएको विधेयकलाई पनि मिनिमाइज गरेर अध्यादेश ल्याएको छ। यसमा सबै विपक्षी दलहरूले गलत भयो भन्ने निष्कर्ष निकालेका छौँ। हामीले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छौँ।’
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्याल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्नपा नेता ध्रुवबहादुर प्रधान, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र यादव, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत सहभागी थिए।
Discussion about this post