Khabar Samachar

एन्फा छानविन समिति : मुख्य प्रशिक्षकको विकल्प खोज्नु

206
VIEWS

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक र ९ जना खेलाडीबीच विवादको सत्यतथ्य पहिल्याउन अखिल नेपाल फुटबल संघ (एन्फा)ले गठन गरेको समितिले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विकल्प खोज्न सुझाव दिएको छ ।

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अल्मुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीचको विवादबारे छानबिन गर्न गठित ३ सदस्यीय समितिले बुधबार एन्फालाई बुझाएको प्रतिवेदनको राय सुझाव सार्वजनिक भएको छ।

सेनाका पूर्वउपरथीसमेत रहेको पूर्वराष्ट्रिय खेलाडी भिक्टर राणा संयोजकत्वकाे समितिमा पूर्वखेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा थिए। संयोजक राणाले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई बुधबार प्रतिवेदन बुझाएका हुन्।

समितिले १० दिन लगाएर २८ पृष्ठ लामो प्रतिवेदन तयार पारेको हाे। प्रतिवेदनमा एकै पटक ९ खेलाडी क्याम्प छाडेर जानु, स्वास्थ्य स्थितिले गर्दा उत्तेजक र तनावमा देखिनु, स्वास्थ्य परीक्षणका लागि बिदा स्वीकृत रहेको अवस्था, फरक सामाजिक र सांस्कृतिक परिवेश, बारम्बार विवाद, तथा सामाजिक सञ्जालमा अनावश्यक टिकाटिप्पणीजस्ता क्रियाकलापले गर्दा एसिया कप छनोट प्रतियोगितापछि अल्मुताइरीको विकल्प खोज्नुपर्ने उल्लेख छ।छानविन समितिको प्रतिवेदनमा कतार फुटबल संघको सहयोगमा नेपाल आएका फिफा फ्रो लाइसेन्सधारी कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एन्फा सचिवालयसँग समन्वय नगरी एकलौटी र स्वेच्छाचारी ढंगले काम गरेको, खेलाडीको छनोट, प्रशिक्षण र मूल्यांकन गर्ने जिम्मेबारीबाहेक अन्य कार्यमा समेत हस्तक्षेप गरेको ठहर गरेको छ ।

छानविन समितिले खेलाडीहरु बन्द प्रशिक्षणबाट भागेको कुरामा सत्यता नरहेको बरु प्रशिक्षक अल्मुताइरीले ९ जना खेलाडीलाई बारम्बार अमर्यादित भाषामा निस्केर जानु भनेपछि खेलाडीहरु बाध्य भएको निष्कर्ष निकालेको छ । प्रशिक्षकले खेलाडीलाई बाहिर जाने निर्देशन दिनुको कारण पनि प्रष्ट बताउन नसकेको प्रतिवेदनमा लेखिएको छ ।

मुख्य प्रशिक्षक अल्मुताइरी उनको स्वास्थ्य अवस्थाका कारण उत्तेजित र तनावमा देखिनु, स्वास्थ्य परीक्षणका लागि विदा स्वीकृत अवस्थामा रहेको, फरक सामाजिक/सांस्कृतिक परिवेश र सामाजिक सन्जालमा बारम्बार विवाद तथा अनावश्यक टिकाटिप्पणीजस्ता कार्यले राष्ट्रिय टिममा स्वच्छ वातावरण नपाएको प्रतिवेदनमा उल्लेख छ ।

एसियन कप छनोट प्रतियोगितापछि कतार फुटबल संघको सहयोगलाई निरन्तरता र सहमति कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरिएको छ ।

छानविन प्रतिवेदनमा खेलाडीको पनि कमजोरी उल्लेख गरिएको छ । होटेलसम्बन्धी विवादलाई बारम्बार नदोहो¥याउन आग्रह गर्दा पनि खेलाडीले समूहगत रुपमा कुरा उठाएर वादविवाद सृजना गर्न खोजेको प्रतिवेदनमा उल्लेख छ । मुख्य प्रशिक्षकबाहेक टिमका अन्य सबै अफिसियलको आग्रह नमानी वैशाख १३ गते राती बन्द प्रशिक्षणरत होटेलबाट बाहिर जानु पनि खेलाडीको गल्ती भएको औल्याइएको छ ।

भोलिपल्ट मुख्य प्रशिक्षक र व्यवस्थापकले फोन तथा म्यासेजबाट सम्पर्क गरी समस्या समाधानको प्रयास गर्दा कुनै पनि खेलाडीले प्रतिक्रिया नदिनुलाई गैरजिम्मेबारीपन भनिएको छ । एन्फामा गएर समस्या समाधानको विकल्प हुँदाहुँदै पत्रकार सम्मेलन गरी विषयलाई अतिरन्जित गरिनु, राष्ट्रिय खेलाडीबाट अनुशासनहीन र गैरजिम्मेबारीपूर्ण कार्य देखिएकाले १० खेलाडीलाई आसन्न एसियन कप छनोट प्रतियोगितामा समावेश गर्न नहुने समितिले प्रतिवेदनमा उल्लेख छ । भविष्यमा यस्ता गतिविधि दोहो¥याएमा फुटबल टिममा छनोट हुन अयोग्य हुनेबारे सचेत गराउन पनि भनिएको छ ।

‘राष्ट्रिय खेलाडीले यस्तो अनुशासनहीन र गैरजिम्मेवारीपूर्ण कार्य गरेको देखिएको हुँदा उनीहरुले यस्तो गल्ती नदोहोऱ्याउने प्रतिबद्धता जनाएमा ती १० (दश) खेलाडीहरुलाई एसिया कप छनोट प्रयोगितामा मात्र सहभागी हुन वञ्चित गर्नुका साथै यस्ता किसिमको कृयाकलाप भविष्यमा दोहोर्‍याएमा राष्ट्रिय फुटबल टिममा छनोट हुन अयोग्य हुनेबारे सचेत गराउन सिफारिस गरिन्छ,’ प्रतिवेदनमा भनिएको छ।

समितिले नेपाली टोलीका व्यवस्थापन मधुसुधन उपाध्ययको कार्यक्षमतामा प्रश्न उठाखउँदै उनलाई आसन्न एसियन कप छनोट प्रतियोगितापछि पदबाट हटाउन एन्फालाई सिफारिस गरेको छ ।

घटना भएको रात व्यवस्थापक होटेलमा नरहेको हुनाले आफ्नो पदीय जिम्मेबारी संहाल्न नसकेको, मुख्य प्रशिक्षक र खेलाडीको विवाद समाधानका लागि समयमै पर्याप्त प्रयास नगरेको दावी गरिएको छ । उनलाई एन्फा सचिवालयले व्यक्तिगत विश्वासका आधारमा नियुक्ति दिएको गम्भीर आरोपसमेत प्रतिवेदनले लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित