अमेरिकी अधिकारीले सोमबार ड्रग्स तस्करी गर्ने एउटा उच्च प्रविधियुक्त सुरुङ भेटको जानकारी दिए। यो सुरुङ सीमा क्षेत्रमा निक्कै गहिराइमा मेक्सिकोबाट अमेरिकास्थित एक गोदामसम्म जोडिएको थियो ।
मेक्सिकोको सान डियागोस्थिति टिजुयानाबाट सुरु भएको सुरुङ निक्कै व्यवस्थित रहेको प्रहरी अधिकारीले बताए। सुरुङभित्र रेलमार्ग, भेन्टिलेसन प्रणाली, बिजुलीको व्यवस्था थियो भने त्यसका भित्ताहरू बलियो बनाउने प्रविधि प्रयोग गरिएको थियो ।
यही क्षेत्र वरपर विगत दुई दशकमा एक दर्जनभन्दा बढी सीमा वारपार गराउने उच्च प्रविधि जडित सुरुङ भेटिएका छन्। जहाँ सुरुङ भेटिएको छ, त्यहाँको सतहमा मेक्सिको र अमेरिकाको सिमानाबीच बलियो पर्खाल छ। पर्खालले जमिनबाट थोरै तल बन्ने सुरुङलाई रोके पनि गहिराइमा बन्ने सुरुङलाई रोक्न नसक्ने रहेछ।
सुरुङ भेटिँदा त्यसभित्र क्यालिफोर्नियाको दक्षिणी भेगका ६ तस्कर भेटिएको अधिकारीले बताएका छन्। प्रहरीले उनीहरूसँग रहेको ७९९ केजी कोकिन, ७५ केजी मेथ र १.६ किलो हेरोईन जफत गर्यो। सुरुङ शुक्रबार भेटिएको थियो र यो ५३२ मिटर लामो, ४ फिट चौडा रहेको प्रहरीले जानकारी दिएको छ। सुरुङ झण्डै ६ तल्ले घर जत्तिको गहिराइमा रहेको अधिकारीले बताएका छन्।
सुरुमा भेटिएको लागु पदार्थको प्रकृतिले अमेरिका र मेक्सिकोबीच तस्करी हुने ड्रग्सको बदलिँदो तस्बिर प्रस्तुत गर्ने विश्लेषक बताउँछन्। सन् २०१९ मा क्यालिफोर्निया राज्यले गाँजालाई वैधानिकता दिनुअघि अधिकांश समय टनका टन गाँजा समातिन्थ्यो ।
अहिले तस्करहरूले हिरोइन, मेथ र फेन्डाईलजस्ता कडा ड्रग्स ओसार पसार गर्न थालेको देखिएको छ। यी ड्रग्सको कुनै गन्ध नहुने भएकोले सानो परिमाणमा वैधानिक सीमा नाकाबाट पनि ओसार पसार हुन्छ। तस्करले सुरुङलाई भने ठूलो परिमाणमा एकैपटक ड्रग्स अमेरिका भित्राउन प्रयोग गर्न थालेका छन्।
Discussion about this post