धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाले मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।
प्रचण्डको निवास खुमलटार पुगेर मेयर साम्पाङले भेट गरेका हुन्। प्रचण्डले साम्पाङ र बेघा दुवैलाई खादा लगाइदिएर त्यहाँ स्वागत गरे।
खुमलटारको भेटपछि हर्कले सामाजिक सञ्जालमार्फत आफूले प्रचण्डलाई सर्दुखोलामा श्रमदानका लागि निम्तो दिएको बताएका छन्।
‘आज प्रचण्डसँग भेट भयो। मैले उहाँलाई सर्दु खोलामा श्रमदान गर्न आउने निम्तो दिएँ’, उनले भनेका छन्, ‘उहाँले ‘हुन्छ’ भन्नु भो!हेरौँ कहिले आउनु हुन्छ?’
स्वतन्त्र उम्मेदवार हर्क गत वैशाख ३० गते मेयरमा निर्वाचित भएपछि उपमेयर बेघाको पनि साथ लिएर धरानको खानेपानी संकट टार्न जुटिरहेका छन्।
धरानको पानी संकट सप्तकोसीबाट लगेपछि सधैँलाई टार्न सकिने योजनामा रहेका उनी अहिलेलाई तत्कालीन समस्या समाधानको खोजीमा छन्।
उनले श्रमदान र वृक्षारोपणका लागि आह्वान गर्दा धरान र अन्य क्षेत्रबाट पनि दैनिक ७ हजारसम्म सर्वसाधारण अभियानमा साथ दिन पुग्ने गरेका छन्।
Discussion about this post