Khabar Samachar

राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले जनही ३-३ लाख दिने प्रधानमन्त्रीको घोषणा

203
VIEWS

युएईलाई हराउँदै जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख रूपैयाँसहित सम्मान गर्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजयी नेपाली क्रिकेट टोलीलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटार बोलाएर टोलीका प्रत्येक खेलाडीलाई सम्मानस्वरूप सरकारले ३-३ लाख रुपैयाँ दिने घोषणा गर्दै आगामी यात्राका लागि शुभकामना दिएका छन्।

खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले हिजोको प्रदर्शनबाट आफू अत्यन्तै खुसी भएको प्रतिक्रिया दिए। ‘मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईँहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ’, उनले भने, ‘देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ। आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु।’

खेलाडीको सुखदुःखमा आफू सधैं साथमा रहने प्रधानमन्त्री प्रचण्डले विश्वास दिलाए। ‘विश्वकप छनोटका लागि तपाईँहरूलाई थप सफलता मिलोस्। म तपाईहरूको सुखदुखमा साथमै हुनेछु’ प्रधानमन्त्रीले भने, ‘यसअघि पनि सरकारले तपाईहरूलाई जनही दुई लाख राशीले पुरस्कृत गरिसकिएको छ। आज म तपाईहरूलाई जनही रू. तीन लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु।’

प्रधानमन्त्री प्रचण्डले तत्काल कीर्तिपुरस्थित त्रिवि मैदानमा आधुनिक फ्लटलाइट र स्कोरबोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशनसमेत दिएका छन्।

‘कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशित गर्दछु’ प्रधानमन्त्रीले भने, ‘यस सन्दर्भमा मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित