Khabar Samachar

एनआरएनएद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजार भन्दा बढीको सहयोग

226
VIEWS

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजार बहत्तर रुपैयाँ बराबरको सहयोग गरेको छ ।

सामाजिक साझेदारीको अवधारणा अन्तर्गत एनआरएनएले २०७२ वैशाख १२ गतेको विनाशकारी महाभूकम्पपछिको पुर्ननिर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन तथा बालुवाटारस्थित एनआरएनए सचिवालयले खरिद गरेका फर्निचर तथा सामाग्रीहरु एनआईसीलाई सहयोगस्वरुप हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएका उपकरण एवं सामाग्रीहरु आविष्कार केन्द्रकाे वीरगन्जस्थित कृषि औजार कारखाना लिमिटेडको पुर्नस्थापनाका लागि प्रयोग गरिनेछ ।

उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष रबिना थापाले नेपालका वैज्ञानिक तथा समाजसेवी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनासहित मुलुकमा वैज्ञानिक अनुसन्धान, सूचना–प्रविधि तथा समाजका अन्य क्षेत्रमा राष्ट्रको उन्नति र संवद्र्धनका लागि पु¥याएको योगदानको प्रशंसा गरिन् । एनआरएनएले प्रदान गरेका ती उपकरणले प्रविधि र विज्ञानको क्षेत्रमा अतुलनीय योगदान पुर्याइरहेको रहेको आविष्कार केन्दलाई मद्दत पुग्ने आशा राखेको उनको भनाई थियो ।

संघका अध्यक्ष कुल आचार्यले विदेशमा बसेका नेपालीहरुले आविष्कार केन्द्रलाई यथाशक्य सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पुनको सक्षम नेतृत्वमा मुलुकभित्रै विभिन्न आविष्कार भइरहेकोप्रति खुशी व्यक्त गरे ।

संघले समृद्ध नेपाल निर्माणका लागि विदेशमा रहेका नेपालीहरु आ–आफ्नो स्थानबाट सहयोग गरिरहेको भन्दै अध्यक्ष आचार्यले आविष्कार केन्द्रमार्फत मुलुकमा नवीनतम विकासका लागि साझेदारी गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए ।

संघका उपाध्यक्ष आर के शर्माले विदेशमा सिकेको ज्ञान र सीपलाई मुलुकमा प्रयोग गर्न फर्कने हुटहुटी सधैँ चलिरहने भएपनि विभिन्न कारण फर्कन नसकेको प्रसंग जोड्दै महावीर पुनले देशमा फर्केर गरिरहेको कामले एनआरएनलाई प्रेरणा प्राप्त भएको बताए । समृद्ध मुलुक निर्माण र विकासका लागि आविष्कार केन्द्रसँग एनआरएनएले सदैव सहकार्य गर्ने शर्माको भनाई थियो ।

संघका प्रवक्ता सोम सापकोटाले मुलुकमा कृषि सामाग्रीको आयात बढ्दो क्रममा रहेको अवस्थामा विगत ३ दशकदेखि बन्द रहेको कृषि औजार कारखाना सञ्चालनका लागि आविष्कार केन्द्रले लिएको पहलकदमीले नेपालको कृषि क्षेत्रको विकास तथा प्रवर्धनका लागि थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा आविष्कार केन्द्रका संस्थापक महाबीर पुनले संघले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताए । कृषिप्रधान देश भएपनि कृषि औजार बनाउने कारखाना नै ३ दशकदेखि बन्द रहँदा आफूलाई केही गर्नैपर्छ भन्ने महसुस भएकोले पनि वीरगञ्जस्थित कृषि औजार कारखाना पुनःसञ्चालनको योजना अघि सारेको पुनको भनाई थियो ।

उक्त योजनामा संघले सहयोगको लागि अग्रसरता देखाएकोमा पुनले खुशी व्यक्त गर्नुभयो । देशैभरिका किसानहरुले आविष्कार केन्द्रबाट ठूलो अपेक्षा राखेकोले पनि कृषि औजार कारखाना पुर्नस्थापनाका लागि आफू अहोरात्र खटिरहेको उहाँको भनाई थियो । कार्यक्रमको सञ्चालन संघका सचिव गोविन्द प्रसाद गौतमले गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित