नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई पनि कारबाही गर्नबाट पछि हट्नु नहुने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन्।
उनले नक्कली भूटानी शरणार्थी प्रकरणमा नाम जोडिएका कांग्रेस नेता बालकृष्ण खाँणलाई पार्टीले तत्काल निलम्बन गर्नुपर्ने माग गरे। थापाले अनुसन्धानमा पार्टी जोडिनु नहुने बताउँदै दोषी ठहरिए सबैलाई कारबाही हुनुपर्नेमा जोड दिए।
महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रविरुद्धको अपराध भएको उल्लेख गरे।
उनले कुनै पनि पदमा बसेको व्यक्ति अभियोग लागिसकेपछि निर्दोष नहुन्जे स्वतः निलम्बनमा पर्ने बताए।
उनले पार्टीको बैठकमा यसबारे छलफल भएपनि केही नेताहरुले पार्टीको परम्परा नरहेको भन्दै पन्छिन खोजेकाले त्यसलाई तोडेर भएपनि निलम्बन गर्न आवश्यक रहेको उल्लेख गरे।
गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु नहुने उनको भनाइ थियो। उनले पार्टीका नेताहरु भ्रष्टाचारी भए पनि पार्टी नै भ्रष्टाचारी हो भन्न नमिल्ने तर्क गरे।
‘अहिले शरणार्थी प्रकरणमा हाम्रो पार्टीका नेता मुछिनुभयो। नेता मुछिएपछि विधिको शासन भएको ठाउँमा कानुनी प्रक्रियालाई सबैले विश्वास गर्नुपर्छ’, थापाले भने, ‘अनुसन्धानबाट दोषी ठहरिन्छ भने सजाय पाउनुपर्छ। राष्ट्रविरुद्धको अपराध राजद्रोहमा अनुसन्धान निष्पक्ष हुनुपर्छ, जोजो मुछिन्छन् सबैलाई कारबाही हुनपर्छ। त्यसमा दायाँ बायाँ केही पनि हुनुहुँदैन।’
अभियोग लागेपछि जोसुकै निलम्बनमा पर्ने उनको भनाइ थियो।
‘एउटा पदमा बसेको मान्छे अभियोग लागेपछि त्यो स्वतः निलम्बनमा पर्छ। प्रमाणित भएन भने स्वतः आउँछ। यो आग्रह, पूर्वाग्रह होइन। केही साथीहरुले परम्परा छैन भन्नुभयो, यदि यो परम्परा छैन भने परम्परा तोड्नुपर्छ’, उनले भने, ‘गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु हुँदैन। पार्टीका मान्छे भ्रष्टाचारी हुनसक्छ तर पार्टी भ्रष्टाचारी हुन सक्दैन। अहिले तत्कालै पार्टीले उहाँ (बालकृष्ण खाँण) लाई निलम्बन गरी आफूबाट अलग राख्नुपर्छ। अनुसन्धानमा कतै पार्टी देखिनु हुँदैन। जोसुकैमाथि जरा जहाँसम्म पुगेको भएपनि त्यो ठाउँसम्म कारबाही हुनुपर्छ।’
Discussion about this post