Khabar Samachar

विश्वकप छनोटमा वेस्ट इन्डिजसँग हार्‍यो नेपाल

234
VIEWS

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले दोस्रो हार बेहोरेको छ।

बिहीबार जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा नेपाललाई दुई पटकको विश्व विजेता वेस्ट इन्डिजले १०१ रनले पराजित गर्‍यो।

अब नेपालले समूह चरणको अन्तिम खेल २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ। नेदरल्यान्ड्सलाई पराजित गर्न सके नेपालको सुपर सिक्स सम्भावना हुनेछ। पहिलो खेलमा घरेलु टिम जिम्बावेसँग पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो।

वेस्ट इन्डिजले दिएको ३४० रनको लक्ष्य पछ्याएको नेपाल २ बल खेल्न बाँकी छदा २३८ रनमा अलआउट भयो।

नेपालका लागि आरिफ शेखले अर्धशतक प्रहार गरे। उनले ६३ रन जोड्ने क्रममा ९३ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

करण केसीले २७ बलमा ४ चौका र १ छक्काको मद्दतमा २८ रन बनाए।

नेपालका ओपनर कुशल भुर्तेल वेस्ट इन्डिजका अल्जारी जोसेफबाट ५ रनमा बोल्ड भए भने भीम सार्की जासन होल्डरको बलमा २ रनमा क्याच भए। आसिफ शेख २८ रनमा आउट भए। उनले ३६ बलमा ३ चौका हिर्काए।

कप्तान रोहित पौडेल ३० रन, कुशल मल्ल २ रन र दीपेन्द्रसिंह २३ रन बनाएर आउट भए। गुल्सन झा ४२ रन बनाएर आउट भए। सन्दीप लामिछाने १ रन मात्र जोड्न सके।

बलिङमा वेस्ट इन्डिजका जासन होल्डरले ३ विकेट लिए। उनले १० ओभरमा ३४ रन खर्चिए। अल्जारी जोसेफ र किमो पाउलले २-२ विकेट हात पारे।

त्यसअघि टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ७ विकेटको क्षतिमा ३३९ रन जोड्यो।

वेस्ट इन्डिजका लागि शाइ होप र निकोलाश पूरनले उत्कृष्ट ब्याटिङ गरे। दुवै ब्याटरले शतक प्रहार गर्न सफल भए।

होप र पूरनबीच चौथो विकेटका लागि २१६ रनको विशाल साझेदारी भएको थियो। ११५ रन बनाएका पूरनलाई दीपेन्द्रसिंह ऐरीले ४४औं ओभरको अन्तिम बलमा क्याच आउट गरे। पूरनले ९४ बलमा १० चौका र ४ छक्का प्रहार गरका थिए।

अन्तिम ओभरको दोस्रो ‌बलमा आउट भएका होपले १३२ रन प्रहार गरे। उनले १२९ बलमा १० चौका र ३ छक्का हिर्काए।

१४ बलमा २९ रन प्रहार गरेका रोभमन पावेललाई ललित राजवंशीले ४८ ओभरको पहिलो बलमा गुल्सन झाबाट क्याच गराए। यस्तै जासन होल्डरले नटआउट १६ रन जोडे।

विकेटकिपर आसिफ शेखले वेस्ट इन्डिजका पूरनको दुई पटक क्याच मिस गर्दा नेपाललाई महँगो पर्‍यो। आसिफले पूरन ३ रन र ५४ रन बनाएर खेलिरहदा क्याच छुटाएका थिए। पहिलोपटक ललित राजवंशी र दोस्रो पटक करण केसीको बलमा उनको क्याच छुटेको थियो।

त्यसअघि नेपालले उत्कृष्ट सुरुवात गर्ने क्रममा वेस्ट इन्डिजका ओनपिङ ब्याट्सम्यान कायल मेयर्सलाई एक रनमा आउट गरेको थियो। मेयर्सलाई दोस्रो ओभरमा करणले कुशल भुर्तेलबाट क्याच गराए।

यस्तै जोनसन चार्ल्सलाई गुल्सन झाले शून्यमा आउट गरेपछि नेपालले ४.१ ओभरमा दोस्रो सफलता हात पार्‍यो।

त्यसपछि ओपनर ब्रान्डन किङ १५.३ ओभरमा ३२ रनमा सन्दीप लामिछानेबाट बोल्ड भएका थिए।

बलिङमा नेपालका लागि ललित राजवंशीले ३ विकेट लिए। उनले १० ओभरमा ५२ रन खर्चिए। करण केसी, सन्दीप लामिछाने, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिन सफल भए।

१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।

पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्।

सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित