आरएनजीसी एन्नुअल क्याडी प्रतियोगिताको उपाधि विदुर तामाङ र पार्वती सुवेदीले जितेका छन।
रोयल नेपाल गल्फ क्लबमा आज भएको पुरूषतर्फको २७ होलको प्रतियोगितामा ८-ओभर १ सय १० को स्कोरमा विदुरले उपाधि जिते। उनले दीपेश श्रेष्ठ र कृष्ण नेपाललाई एक स्ट्रोकले हराए। उनले पहिलो १८ होलको खेल ५-ओभर ७३ मा सकाए र अन्तिम नौ होल ३-ओभर ३७ मा सकाए। ट्रफी सहित उनले नगद २१ हजार हात पारे।
९-ओभर १ सय ११ सहित दीपेश र कृष्णले दोस्रो स्थान बाँडे। दुवैले समान १४ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे। १ सय १३ को नतिजामा चौथो भएका सुरेश तामाङले ११ हजार नगद आनो नाममा लेखाए। अनिल तामाङ र रोहित आचार्यले १ सय १८ सहित छैटौं स्थानमा खेल सकाए। उनीहरूले समान ८ हजार ५ सय नगद पुरस्कार हात पारे।
महिलातर्फ ९२ को स्कोरमा पार्वती सुवेदीले उपाधि जितिन। उनले गीता तामाङलाई चार स्ट्रोकले हराइन। पार्वतीले उपाधिसँगै १० हजार ५ सय हात पारिन। ९६ स्कोर सहित दोस्रो भएकी गीताले ७ हजार ५ सय प्राप्त गरिन। सुबानी भट्ट तेस्रो भइन र ६ हजार हात पारिन। १ सय आठ स्कोर सहित चौंथो भएकी निर्जला श्रेष्ठले ५ हजार प्राप्त गरिन।
प्रतियोगितामा बिदुर तामाङले मोस्ट बर्डीज, दीपेश श्रेष्ठले लङगेस्ट ड्राइभ र अञ्जन सुवेदीले क्लोजेस्ट टु दी पिनको उपाधि जिते। उनीहरूले जनही १ हजार ५ सय नगद प्राप्त गरे। यसैगरी अर्जुन प्रसाद उत्कृष्ट क्याडी चुनिए। उनलाई नगद ५ हजार प्रदान गरियो।
प्रतियोगितामा सात महिला सहित कुल ३१ क्याडीको सहभागीता रहेको थियो। विजयी खेलाडीहरुलाई रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बा, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, कोषाध्यक्ष रोशन राई, क्याप्टेन मिथुन राई, भाईस क्याप्टेन रविन राणा र लेडी क्याप्टेन आर्शिया वानुले पुरस्कार वितरण गरे।
Discussion about this post