नेपाल बन्दको बहानामा दाङमा आफ्नै सवारीमा आगजनी गरेको खुलेको छ। मंगलबार बिहान ५ बजेतिर घोराही उपमहानगरपालिका ३ कुइरेपानीको बबई खोलाको पुल नजिक टिपरमा आगजनी भएको थियो।
आगजनीपछि टिप धनी धनेश्वर भण्डारीले प्रहरीलाई खबर गरेका थिए। गोग्लीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको खालि टिपरमा चालक र सहचालकलाई टिपरबाट झारेर बन्दकर्ताले आगजनी गरेर फरार भएको सूचना दिइएको थियो। प्रहरीले टिपर धनी, चालक र सहचालकलाई जिल्ला प्रहरी कार्यालय दाङमा लगेर सोधपुछ गरेको थियो। प्रहरीले अनुसन्धानका क्रममा टिपरमा बन्दकर्ताले नभई आफैं आगो लगाएको खुलेको थियो।
दाङ केहीदिन देखि घोराही उपमहानगरपालिका वठा नं. ४ गोग्ली ग्यारेजमा थन्किएर बसेको रा १ ख १६९४ नम्बरको टिपर मंगलबार बिहानै ग्यारेजदेखि बाहिर निस्क्यो । बिहान करिब ४ बजे टिपर चालक राप्ती गाउँपालिका–८ पिपरीका अरुण चौधरी र उनका सहचालक गढवा – ७ आकाश चौधरीले टिपर लिएर हिँडे । ग्यारेजबाट टिपर हिँडेको केही समयमा नै बन्दकर्ताले त्यसमाथि आगजनी गरे भन्ने समाचार फैलियो । घटनाबारे प्रहरी कहाँ खबर पुग्दा टिपर जलेर खरानी भइसकेको थियो ।
जब प्रहरीले घटनाबारे अनुसन्धान सुरु ग¥यो, घटनाको अर्को पाटो खुल्यो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन गौतमले भने, ‘प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा बन्दकर्ताले नभएर चालक र सहचालक आफैले टिपरमा आगो लगाएको खुलेको छ ।
गौतमका अनुसार केही दिनदेखि ग्यारेजमा रहेको टिपर बन्दको दिन एकाएक निस्किनु र आगजनीमा पर्नुले प्रहरीलाई घटनामा सुरुमा नै शङ्कास्पद लाग्यो । घटनास्थलबाट चालक र सहचालकलाई पक्राउ गरी आवश्यक सोधखोज गर्दा घटनाको रहस्य खुलेको उनले जानकारी दिए । घटनामा टिपरधनी धनेश्वर भण्डारीलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको छ ।
‘आगजनीमा परेको टिपर करिब ४ वर्ष पुरानो हो । जसले दाङमा सञ्चालित सिमेन्ट उद्योगहरूको चुन ढुुङ्गा ढुवानी गर्ने काम गर्थ्यो । केही समयदेखि टिपर ग्यारेजमा थियो । गौतमले भने, ‘यसमा बीमा रकम कुम्ल्याउने दाउ देखिन्छ ।’
साहुको निर्देशन अनुसार चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले उक्त टिपरमा डिजेल खन्याएर आगो लगाएको खुलेको छ।
उनीहरुविरुद्ध प्रहरीले आपराधिक लाभ शिर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए।
Discussion about this post