Khabar Samachar

Search
Close this search box.

सन्दीप लामिछानेको बयान जारी, आजै थुनछेक बहस हुने

206
VIEWS

नाबालिग बलात्कारको कसुरमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेको बयान न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा जारी छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा यतिबेला सन्दीपको बयान जारी छ ।

१७ वर्षकी किशोरीलाई होटलमा पुराएर जबरजस्ती करणी गरेको कसुरमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने गत असोज २० गते पक्राउ परेका थिए । गत भदौ ६ गतेको बिहान पिंगलास्थानमा रहेको होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै किशोरीले भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

भदौ ६ गते साँझ क्रिकेट खेल्नका लागि केन्या पुगेका लामिछाने त्यसपछि क्यारेबियन प्रिमियर लिग खेल्न पुगेका थिए । तर सोही समयमा उनीविरुद्ध जबरजस्ती करणीको जाहेरी परेपछि खेल नखेली फरार भएका थिए ।

लामिछाने फरार भएपछि प्रहरीले उनीविरुद्ध डिफुयुजन नोटिस जारी गरेको थियो । त्यसपछि पक्राउ पर्ने डरले उनी नेपाल फर्किएका थिए । नेपाल फर्किएलगत्तै उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरिएको थियो ।  प्रहरीले अनुसन्धान सकाएपछि सोमबार मात्रै सन्दीपविरुद्ध नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिब क्षतिपूर्तिको मागदावी लिई मुद्दा दायर गरिएको थियो ।अदालतमा मुद्दा दायर भएपछि मंगलबार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उनको बयान लिने क्रम जारी छ । खाजा समय अगाडि बयान सकिएमा त्यसपछि थुनछेक बहस सुरु गर्ने तयारी भएको छ । थुनछेक बहसमा पहिले वादीका तर्फबाट सरकारी वकिल पक्ष र अन्य अधिवक्ता भएमा उनीहरुले बहस गर्नेछन् । त्यसपछि प्रतिवादी लामिछानेका तर्फबाट कानुनी सहायता गरिरहेका अधिवक्ताहरुले सन्दीपको पक्षमा बहस गर्नेछन् । आवश्यक देखिएमा पछि पुनः सरकारी वकिल पक्षले बहस गरेपछि सन्दीपलाई पुर्पक्षमै राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने हो कि धरौटीमा राखेर मुद्दाको सुनुवाइ गर्ने भन्ने विषयमा आदेश हुनेछ । अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिएमा उनी पुर्पक्षका लागि थुनामा जानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित